इटहरी । बढ्दो कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणमा तत्पर देखिएका जनप्रतिनिधि र कर्मचारीहरुले आ–आफ्ना सेवा सुविधालाई पनि कटौती गर्दै सर्वसाधारणको जीवन बचाउने कार्यमा जुटेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको हो सुनसरीको बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी ।
उनीहरुले प्रयोग गर्दै आएका गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय नै नगरेपछि चौतर्फी प्रशंसा बटुलिरहेका छन् । नगरपालिकाका मेयर निलम खनालले र प्रमुख प्रशाकीय अधिकृत राजेश पोखरेलले प्रयोग गर्दै आएका गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।
मेयर खनालले चढ्दै आएको बा.१ झ ८८९१ नम्वर र प्रमुख प्रशासकिय अधिकृत पोखरेलले चढ्दै आएको बा १ झ ५८१४ नम्बरको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको छ । कोरोना संक्रमणको समयमा गरीब जनताले दुःख पाउनु नपरोस, समयमै अस्पताल लान नसक्दा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले जनताको सेवामा आफु सधै तत्पर रहेको प्रमुख खनालको भनाई छ ।
‘आफुले आफ्नो काममा र नगरपालिकाको काममा हिड्नको लागि आफ्नो व्यक्तिगत स्कुटी प्रयोग गर्नेछु,’ उनले भने । एउटा गाडी गर्भवती सुत्केरीकोलागि अस्पताल ओहरदोहर गर्न र अर्को गाडी आइसोलेसनमा प्रयोग गरिने निर्णय छ । गाडीमा अक्सिजनको सिलिन्डरको व्यवस्थापन समेत गर्ने तयारी भैरहेको नगरपालिका कार्यालयले जनाएको छ ।
बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी बहुमुखी क्याम्पसमा ५० शैय्याको आइसोलेसन तयार गरिएको छ ।