निषेधाज्ञामा पनि रोकिएन डोजर, १५ परिवार घर विहीन !

जनकपुरधाम, ३१ बैशाख । कोरोना संक्रमणको महामारीबाट बच्न र बचाउनलागि धनुषा प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने निषेधाज्ञाको अवधीभर अत्यावश्यक काम बाहेक घरभित्र बस्न आग्रह गरेको छ । तर, यही बेला प्रहरीकै संलग्नतामा जनकपुरधाम उपहानगरपालिका–१२ कुवा टोलका १५ परिवार विपन्नको घर भत्काइएपछि ५० जना घर विहीन बनेका छन् ।

करिब चार दशकदेखि बसोबास गर्दै आएको घर विहिबार साँझ प्रहरीकै संलग्नतामा डोजर लगाएर भत्काइएको पिडितहरु बताउँछन् । सो टोलमा मुखिया, कुम्हार, यादव, मण्डल (खत्बे) लगायत समुदायको बसोबास छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका उनीहरुको घर भत्काइएपछि रातभर (गए राति) सडकमै सुतेर वितेका छन् ।

उक्त जग्गामा गुठी संस्थान जनकपुरको हो । तर, संस्थानले सूचना नै नदिई कोरोना महामारीकै बेला घर भत्काउँदा घरभित्र रहेको अन्नपात समेत निकाल्न सकिएको छैन् ।

सो वडाका वडाध्यक्ष शत्रुधन यादवले सो घटना आफुलाई जानकारी नरहेको बताए । ‘हामीसँग सोधेरै त्यहाँका सर्वसाधारणहरुले घर बनाएका थिए’ उनले भने–‘अहिले के कारणले घर भत्काइएको छ भन्ने विषय जानकारी नरहे पनि बुझ्ने कार्य हुँदैछ ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जिल्ला प्रशासन कार्यालयमार्फत आएको गुठी संस्थानको पत्रअनुसार अतिक्रमण गरेर बनाइएका केही ठहराहरु हटाएको बताए । ‘गुठी संस्थानको पत्र जिल्ला प्रशासन कार्यालयमार्फत हामीलाई आएको थियो, अतिक्रमण गरेर बनाइएको टहराहरु हटाइदिनु भनेर’ उनले भने–‘सोही अनुसार हामीले कर्मचारी, महन्त लगायतको उपस्थितीमा त्यहाँ अतिक्रमण गरेर बनाइएको ३०/३५ वटा टहराहरु हटाएका छौं ।’

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले महामारीको बेला सर्वसाधारणलाई घर विहीन बनाउन नहुने प्रतिक्रिया दिए । ‘सो बारे प्रशासनसँग बुझेर आवश्यक पहल गछौं’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस