घाँटी काटेर ४० वर्षीय पुरुषको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा घाँटी काटेर हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरमा एक्लै बस्दै आएका सुन्दरहरैँचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको शव शुक्रबार बिहान फेला परेको हो ।

धारिलो हतियारले अघिल्लोपटिको घाँटी काटिएको अवस्थामा मजदूरी काम गर्दै आएका ऋषिदेवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा एक्लै बस्दै आएका ऋषिदेव बिहीबार बेलुका ८ बजेतिर आफ्ना भाइ अपोलो ऋषिदेवको घरमा खाना खाई घर आएर सुतेका थिए ।

पत्निको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेका कारण विष्णु एक्लै बस्थे । सधैँ खाना भने आफ्ना भाइको घरमा खान्थे र सुत्नका लागि घर नै फर्किन्थे । बिहान ६ बजेतिर सँगै मजदूरी गर्ने साथी राजकुमार चौधरीले बोलाउन जाँदा नबोलेपछि भित्र गएर हेर्दा विभत्स अवस्थामा उनको शव फेला परेको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दैनिक मजदुरी गर्ने उनको घरमा कोही नभएका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘प्रहरीको टोली पुग्दा घरभित्र खाटमा लगाइएको ओछ्यानमा लडिरहेको अवस्थामा शव भेटिएको थियो’, डिएसपी राईले केटिएम दैनिकसँग भने, ‘घरमा कोही पनि नभएका कारण उनको हत्या भएको अनुमान छ । यस विषयमा अनुसन्धान गरिरहेका छौँ ।’

उनका अनुसार पूरै शरीर कपडाविहीन रहेका मृतकले कम्मरमुनि कट्टु भने लगाएका छन् । राईले रगताम्ये र मृतकको शरीर तथा वरपर रगत लतपतिएको अवस्थामा घटनास्थल रहेको जानकारी दिए । राईले घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको र गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनास्थलमा हत्यामा प्रयोग गरिएको कुनै हतियार फेला परेको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस