प्रदेश २ का सबै सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिँदै

जनकपुरधाम, १० जेठ । प्रदेश २ का आम संचार प्राधिकरण र मिडिया काउन्सिलले प्रदेशका सञ्चारकर्मीहरुलाई कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिनका लागि स्वास्थ्य सामग्री वितरण कार्य सुरु गरेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर सो कार्य सुरुवात गरेका हुन् ।

स्वास्थ्य सामग्री उपलब्ध गराउँदै मन्त्री यादवले कोभिडको महामारीमा परेर ज्यान गुमाएका सञ्चारकर्मीको परिवारका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘महामारी पनि जनतालाई सु–सुचित गराएर सञ्चारकर्मीहरुले निर्वाह गरिरहेको भुमिका पक्कै पनि प्रशन्सायोग्य छ र सोही क्रममा केही सञ्चारकर्मीहरुको निधन भएको खबरले हामी मर्माहत भएका छौं’ उनले भने–‘उहाँहरुको परिवारलाई प्रदेश सरकारले सकेसम्म सहयोग गर्छ र त्यसैको लागि हामीले क्याविनेटमा प्रस्ताव पनि लगिसकेका छौं ।’

उनले महामारीबाट जोगिएर कार्य सम्पादन गर्न सञ्चारकर्मीहरुलाई आग्रह पनि गरे । नेपाल पत्रकार महासंघ प्रदेश समितिको समन्वयनमा सुरु गरिएको स्वास्थ्य सामग्री वितरण कार्य अन्तर्गत भोली–पर्सीसम्म सबै जिल्लाका शाखामा पुगिसक्ने आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । ‘हामी आजैसम्म धनुषासहितका २–३ जिल्ला शाखामा स्वास्थ्य सामग्री उपलब्ध गराइसक्ने छौं’ उनले भने–‘बाँकी जिल्ला शाखामा पनि भोली–पर्सीसम्म सामग्री उपलब्ध गराइसक्ने छौं ।’

उनका अनुसार आज प्रदेश समितिका अध्यक्ष कर्णलाई २१ थान प्याकेट र धनुषाका उपाध्यक्ष अवधेश कामतलाई १७३ थान प्याकेट स्वास्थ्य सामग्री उपलब्ध गराइसकिएको छ । ‘सो प्याकेटमा प्रदेश समिति र शाखाका लागि थर्मोगन र अक्सिमिटर १–१ थान छ भने प्रति सञ्चारकर्मीले पाउने प्याकेटमा ५० पिस सर्जिकल र १० पिस केएन ९५–मास्क, २ बोतल स्यानिटाइजर, २ पिस ग्लोब्स, २ पिस चस्मासहितको फेस शिल्ड छ’ उनले भने–‘महासंघका सदस्य र विभिन्न सञ्चारमध्यममा कार्यरत सञ्चारकर्मीलाई महामारीबाट जोगिन केही हदसम्म मद्दत होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण सुरु गरेका छौं ।’

आगमी दिनमा पनि प्रदेशका सञ्चारकर्मीहरुलाई सहयोग हुने खालका कार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, प्रदेश सदस्य कैलाश दास, धनुषा शाखाका कोषाध्यक्ष रामकमल सिंह, सदस्य अर्जुन मण्डल लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस