सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

राजविराज । ६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् ।

गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए । ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन् ।

शुक्रबार बिहान करिब ८ बजे घरबाट निस्केका रविको खोजी गर्दै जाँदा नजिकैको भगवानपुरबाट एक अधबैसे पुरुषले आफ्नो नाति भन्दै बिस्कुट किनिदिएर लगेको स्थानीयले बताएको परिवारले जानकारी दिएको छ ।

‘रविलाई घरमा नदेखेपछि खोजी गर्यौँ । तर, सुराक लागेन,’ बाबु जयनारायणले भने, ‘मामाघर वा अन्य कतै आफन्तकहाँ निस्केको पो हो कि भनेर धेरै खोज्यौँ, कतै पत्तो लागेन । भगवानपुरबाट एक जनाले आफ्नो नाति भन्दै लगेको जानकारी छ । तर, मेरो कुनै आफन्तसँग रवि छैन ।’

उनी मामाघर बभनगामाकट्टीका लागि हिँडेको र बाटोबाटै कसैले फकाएर चोरी गरेर लगेको हुनसक्ने बाबु जयनारायणको आशंका छ ।

पारिवारिक र जानसक्ने स्थानहरूमा सोधखोज गर्दा पनि फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी गरेको छ । प्रहरीले पनि बालकको बारेमा केही पत्ता लगाउन सकेको छैन ।

खोजी कार्य भइरहे पनि कुनै सुराक पाउन नसकेको इप्रका हनुमाननगरका प्रहरी सहायक निरीक्षक सञ्जय न्यौपानेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस