सिरहामा २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु

लहान । सिरहामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न अस्पतालमा उपचाररत सिरहाका थप चार पुरुष र एक महिलासहित पाँच जनाको मृत्यु भएको हो ।

ज्यान जानेमा कर्जन्हा ६ का ५० वर्षीय महिला, नवारजपुर १ का ४९ वर्षीय पुरुष, भगवपुर २ का ५४ वर्षीय पुरुष, अर्नमा १ का ३५ वर्षीय पुरुष तथा लहान ८ का ५९ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

यससँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा मृत्यु हुनेको २९ पुगेको छ । हालसम्म जिल्लामा दुई हजार ८ सय ३४ जनाको परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये अहिलेसम्म ३ सय १ जना निको भइसकेका छन् । जिल्लामा हालको संक्रमित संख्या ५ सय १४ रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस