हुण्डीको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजना पक्राउ

जनकपुरधाम । निषेधाज्ञाको समयमा वीरगञ्जमा हुण्डी कारोबार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले ५३ लाख ८० हजार नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेका छन्।

हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जैसवालले झोला बोकेर हिँडिरहेको अवस्थामा झोला नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट नेपाली २४ लाख नगद फेला पारेको थियो।

उनको बयानको आधारमा वीरगञ्ज महानगरपालिका ८ स्थित डेरा गरी बस्ने प्रसौनी निवासी गुप्ताको डेरामा खानतलाशी गर्दा दुई वटा कालो झोलामा राखिएको २९ लाख ८० हजार फेलापरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

बरामद गरिएको नगदसहित दुबै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस