भेन्टिलेटर छ, चलाउने जनशक्ति छैन

रौतहट । दक्ष जनशक्तिको अभावमा रौतहट जिल्लाको सबै भन्दा जेठो गौर अस्पतालमा रहेको ४ वटा भेन्टिलेटर सहित १० शैयाको आईसियु संचालन हुन सकेको छैन । कोरोनाका कारण संक्रमित मृत्युको मुखमा पुग्दासमेत भएका सामाग्री संचालनका लागि प्रदेश सरकारले खासै चासो देखाएको छैन ।

पाँच महिनाअघि प्रदेश र संघीय सरकारको सहयोगमा उपलब्ध ४ थान भेन्टिलेटर र १५ शैयाको एचडियु संचालनका लागि अस्पतालमा दक्ष जनशक्ति नै छैनन् । भेन्टिलेटर सहितका सेवा सुचारु गराउन तीनवटै तहका सरकारसंग पटक–पटक पहल तथा पत्राचार गर्दा समेत बेवास्ता गरिएको गौर अस्पतालका निमित्त प्रमुख डा.कृष्ण साह बताउँछन् । अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी रहेपनि अहिले एकजना मात्रै छन् । जनशक्ति पठाउन सम्बन्धित निकायमा ताकेता गर्दा समेत उपलब्ध हुन नसकेको उनको दुःखेसो छ ।

कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुदा पनि एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आइसियू र भेन्टीलेटर सेवा दिन नसकिएको हो । प्रदेश सरकारलाई मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको र प्रकृया अघि बढाइएको साह बताउँछन् । कर्मचारी अभावमा गौर अस्पताल र कोविड वार्ड दुवै संचालन गर्न अप्ठेरो परेको छ । गौर अस्पतालकै चिकित्सकहरु ड्यूटी मिलाएर कोविड वार्डमा पनि खटिएका छन । यसले पनि कोरोना संक्रमित र अन्य बिरामीको प्रभावकारी उपचार हुन नसकेको हो ।

मेडिकल माफिया र राजनितिक चलखेलका कारण गौर अस्पतालमा राम्रा चिकित्सक आउन चाहदैनन् । आएकाहरुलाई पनि अनेक जालझेल गरेर कर्मचारीले नै लखेटने गर्दछन् । स्वाब परिक्षणको लागि जिल्लाको एक मात्र पिसिआर ल्याबमा पनि जनशक्तिको चरम अभाव रहेको छ । अहिले गौर अस्पतालको पिसिआर ल्याबमा १४ जना कर्मचारी हुनु पर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस