प्रदेश–२ सरकारमा कांग्रेस र माओवादीलाई सहभागी गराउन मन्त्रालय फुटाउने निर्णय

student

जनकपुरधाम । नेपाली कांग्रेस र माओवादी केन्द्रलाई प्रदेश २ को सरकारमा सहभागी गराउन मन्त्रालय फुटाउने निर्णय गरिएको छ। मंगलबार साँझ बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी हुन तयार भएपछि मुख्यमन्त्री लालबाबु राउत मन्त्रालय फुटाउन लागेका हुन्।

अहिले ६ वटा मन्त्रालय रहेकोमा त्यसलाई १० वटा बनाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए। उनले मन्त्रालय बढाउने योजना पहिलादेखि नै रहेपनि आज मात्र यसको सहमति हुन पुगेको बताए।

मन्त्री यादवका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर २–२ वटा बनाइएको छ।

कांग्रेस र माओवादीलाई समेटेर बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर दुवै मन्त्रालय र अर्को एक रोजाई अनुसारको मन्त्रालय नेपाली कांग्रेसलाई दिने तयारी गरिएको छ भने एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइनेछ। बाँकी दुई वटा मन्त्रालय मुख्यमन्त्री राउत आफ्नै मातहतमा राख्नेछन् ।

मुख्यमन्त्री राउतले आइतबार मात्र महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस