तिलाठी कोइलाडीको अपत्यार लाग्दो दृश्य ! (भिडिओसहित)

कमलकुमार मण्डल
राजविराज, ७ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका एक १४ वर्षीय बालक हिजो (आइतवार) रुखबाट लडेर होस गुमाए । घाइते भएर बेहोस भएका बालकृष्ण मण्डलका छोरा श्रविणकुमार मण्डललाई तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्था देखिए पनि वर्षाको पानीले हिलाम्य भएको खण्डका कारण गाउँसम्म एम्बुलेन्स पुग्न सकेन ।

सडकको दुर्दशा हेरेर सिटी रिक्साबलाले पनि त्यहाँसम्म पुग्ने आँट गरेन । बालकको बेहोस अवस्था हेरेर परिवारजनले स्थानीयहरुलाई गुहार मागे र स्थानीयहरुकै सहयोगमा बालकलाई बोकेर एम्बुलेन्सतर्फ लग्दै गरेको दृश्य हो यो ।


यो दृश्यले स्पष्ट हुन्छ स्थानीय सरकारका बागडोर सम्हालेका जनप्रतिनिधि कहाँ छन् । मुलुक संघीय संरचनामा गएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराले व्यापक चर्चा पायो । गाउँमै सिंहदरबार भएपछि स्थानीयका समस्या स्थानीय सरकारले नजिकबाटै नियालेर समाधान गर्छन् भन्ने अपेक्षा र विश्वाससहित जनताले मत दिएरै जनप्रतिनिधि चयन गरे । तर, जनप्रतिनिधि आएको झण्डै ४ वर्ष वितिसक्दा पनि लौनियाँवासीले भने अझैं सरकार आएको अनुभुति गर्न पाएको छैन् । ‘वर्खायाममा जहिले सडक हिलाम्य रहने गरेका कारण गाउँमा त समस्या झेल्नु नै पर्छ, कसैसँग केही घटना भयो वा कोही विरामी परेको खण्डमा अस्पतालसम्म पुग्न पनि अनेक उपाय निकाल्नुपर्छ’ बालकृष्ण मण्डलले भने–‘तर, हाम्रो समस्यातर्फ स्थानीय सरकारको ध्यान नै पुग्दैन् ।’

स्थानीय सरकारको उदासिनताले अझैं हामीलाई १९ औं शताब्दी जस्तो बसोवास गर्नु परेको उनले दुखेसो गरे । ‘हामी २१ औं शताब्दीको अन्त्यतिर छौं अरे, तर हाम्रो दिनचर्या कस्ता छ?’ उनले भने–‘कम्तिमा ठोस सडक गाउँसम्म बनाइदिए उपकार नै हुन्थ्यो ।’

मुलुकमा जति परिवर्तन भए पनि लौनियाँवासीले पुस्तौदेखि झेल्दै आएको समस्या उस्तै रहेको अर्का स्थानीय जिवछकुमार मण्डलले बताए । ‘मुलुकमा परिवर्तन भएकै हो तर हामीले के पाए? वोट हालेर जनप्रतिनिधि पनि चयन गरे र पनि विरामीलाई बोकेरै एम्बुलेन्ससम्म पुग्नुपर्ने बाध्यता छ’ उनले भने–‘हाम्रो समस्या लुकेको विषय होइन्, सवैलाई अवगत नै छ, हामीले पनि पटक पटक ठोस सडक निर्माणको लागि स्थानीय सरकारलाई आग्रह गरे तर सुनुवाइ नै हुँदैन ।’

उनले गाउँसम्म रहेको कच्ची सडकको नालामा पानी जमेर दुर्गन्धित नै रहेको बताए । ‘कोरोना महामारीले न जोखियो तर यो दुर्गन्धले अर्काे महामारी ल्याउँछ भने समस्याले पनि गाउँलेलाई पिरोलेको छ’, उनले बताए ।

गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले निरन्तर वर्षा भइरहेको सडकको मर्मत गर्न नसकिएको बताए । ‘त्यो गाउँमा जिल्लास्तरीय सडक पुगेको छ र त्यसमा हामीले मर्मत गर्दै आएका छौं’ उनले भने–‘तर वर्षा रोकिएको छैन्, त्यसैले मर्मत कार्य अघि बढाउन सकिएन ।’ यद्यपी, उनीहरुले देखाइरहेकै जस्तो समस्या त्यहाँ नरहेको अध्यक्ष सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस