मृगौला पीडित आजादको उपचारमा समस्या, सहयोगको लागि आग्रह

राजविराज, ७ असार । वैदेशिक रोजगारको हुँदा मृगौलामा समस्या देखिएका सप्तरीको महादेवा गाउँपालिका–४ डाढाका २८ वर्षीय मोहम्मद आजादलाई उपचार गराउन समस्या परेको छ । दुई वर्षअघि कतार हुँदा उनको मृगौलामा समस्या देखिएको थियो । कमाएको सबै पैसा उपचारमै सकिएपछि उनले साथीहरु सापटी लिएर घरसम्म त आए । तर, घरको अवस्था पनि कमजोर नै रहेका कारण उनलाई उपचार गराउन समस्या परेको आजादकी पत्नी रुसतम खातुनले दुखेसो गरिन ।

‘घरमा भएको केही पैसा पनि अहिलेसम्मको उपचारमै सकिएको छ, तर पनि उहाँलाई निको भएको छैन, अहिले साताको दुई पटक डायलासिस हुँदै आएको छ’ उनले भनिन्–‘उहाँको मृगौला नै फेर्नपर्छ भनि चिकित्सकहरुले सल्लाह दिँदै आएका छन् तर आफुहरुसँग पैसा छैन, के गरी उपचार गराउने तनावले रातरातभरि निन्द्रा लाग्दैन ।’

पतिको उपचार गराउन अहिले आफुहरुलाई सहयोगको खाँचो रहेको खातुनले बताइन । ‘उहाँको उपचारको चिन्ताले पिरोलेको छ, हामीलाई अहिले उपचारमा सघाउने सहयोगी हातहरुको आवश्यकता छ’ उनले भनिन्–‘सहयोग भए मात्रै पतिलाई बचाउन सकिन्छ, अन्यथा आफुहरुमाथि बज्रपात नै हुने निश्चित नै छ ।’

विरामीको रेखदेखमै समय वित्ने गरेकोले कत्तै सहयोग माग्न जानसक्ने अवस्था पनि नरहेको उनी बताउँछिन् । ‘तीन जना सन्तान (२ र ४ वर्षीया छोरी तथा ६ वर्षीय छोरा)लाई लिएर उहाँकै रेखदेखमै समय वित्ने गरेको छ, सहयोगको आवश्यकता रहे पनि सहयोग माग्न कहाँ जाने र कोसँग माग्ने सुझबुझ छैन’ उनले भने–‘यहाँकै समाचारबाट सहयोगको लागि सबैमा आग्रह गर्छु ।’

आजादको अहिले अहिले गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुँदै आए पनि मृगौला फेर्न उनलाई काठमाडौं लग्नुपर्ने परिवारजनले बताए ।

युवाहरुले सुरु गरे सहयोग संकलन अभियान

आजादको जीवन बचाउन युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग संकलन अभियान थालेको छ । अभियानअनुसार केही नागरिक अगुवा, राजनितिककर्मी र अगुवा युवाहरुबाट करिब दुई लाख रुपैयाँ संकलन भएको स्थानीय युवा लुकमान अलीले बताए । उनका अनुसार उपचारमा करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस