गजेन्द्रनारायण सिंह अस्पतालमा अस्तव्यस्त फोहोर व्यवस्थापन केन्द्र

राजविराज, ७ असार । केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुनः उपचार सेवा खस्किदै गएको गुनासो भइरहेकै बेला अस्पतालमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्र पनि अस्तव्यस्त अवस्थामा पुगेको पाइएको छ ।

तीन वर्षअघि अस्पतालमा डा.चुमनलाल दास मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) को रुपमा आएसँगै अस्पतालको मुहार नै फेरियो । सरसफाईदेखि प्रभावकारी उपचार सेवासम्ममा उनले गरेको कार्यले समान्य विरामीलाई पनि विराटनगर, धरान धाउनुपर्ने बाध्यता त हट्यो नै, अस्पतालको नाम अगाडी नै झण्डिएको ‘रेफरल सेन्टर’ पनि हटेर गयो । एक वर्षअघि डा.दासको सरुवा भएसँगै अहिले पुनः अस्पतालमा उपचार सेवा खस्किदै आएको गुनासो भइरहेकै बेला अस्पतालमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्र पनि अस्तव्यस्त अवस्थामा पुगेको पाइएको हो ।

डा.दासले नै वर्षौदेखि थन्किएको ‘अटोक्लेव मेसिन’लाई सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण गराएर २०७६ मंसिरतिर अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको थियो । तर, अहिले सो फोहोर व्यवस्थापन केन्द्र सञ्चालन पनि अस्तव्यस्त अवस्थामा पुगेको छ ।

अस्पतालमा दैनिक प्रयोग हुने स्लाइन बोतल, पाइप, केनुला, ग्लोभ्स, मास्क, सिरिन्जलगायत सामानलाई निर्मलिकरण गर्न सञ्चालनमा ल्याएको सो अटोक्लेव मेसिन अस्तव्यस्त भएर ठप्प नै भएको छ । फोहोर व्यवस्थापन केन्द्र ठप्प हुँदा अस्पतालबाट निस्किने फोहोरहरु यत्रतत्र थुपारिएको छ । यद्यपी, अस्पताल प्रशासनको भने फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउनेतर्फ ध्यान नपुगेको स्थानीय रमेश यादवले बताए ।

उता, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झाले कोभिडतिर बढी ध्यान गएको हुनाले फोहोर व्यवस्थापन केन्द्रतर्फ केही कमी कमजोरी भएको हुनसक्ने बताए । ‘फोहोर व्यवस्थापन केन्द्र विलकुलै बन्द चैं भएको छैन, सञ्चालित नै छ’ उनले भने–‘कोभिडतिर बढी ध्यान गएको हुनाले फोहोर व्यवस्थापन केन्द्रमा केही कमी कमजोरी भएको हुनसक्नछ ।’ उनले फोहोर व्यवस्थापनको थप नयाँ ढंगले आफुहरु अघि बढेको निमित्त मेसु झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस