कांग्रेस क्रियाशील सदस्यता विवाद : जनकपुरमा पनि अनशन

जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद धनुषामा पनि देखिएको छ । प्रक्रियाविपरीत वितरण भएको सदस्यता खारेजीको माग गर्दै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको हो ।

काठमाडौंमा पाँच दिनदेखि धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् । उनकै समर्थनमा जनकपुरमा पनि बिहान ११ देखि अपराह्न ५ बजेसम्म बस्ने गरी अनशन सुरु गरिएको तरुण दलका केन्द्रीय सदस्य नरेश यादवले जानकारी दिए ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यता वितरण गरेको उनको आरोप छ । जिल्लाबाट पठाएको प्रतिवेदनको अधारमा सदस्यता वितरण हुनुपर्ने र प्रक्रियाविपरीत वितरण गरिएको सदस्यता रद्द गर्नुपर्ने उनले माग गरे ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का सभापति जितनारायण यादव छन् भने क्षेत्र नम्बर–४ का सभापति योगी पञ्जियार छन् । उनीहरुले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो वर्चस्व कायम गर्न पार्टीको विधानविपरीत कार्य गरेको आरोप लागेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस