प्रदेश १ मा एक वर्षमा ५२ वटा व्यावसायिक फर्ममाथि कारबाही

बिराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७-७८ मा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७७–७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकोमध्ये कैफियत भेटिएका ५२ वटा फर्मलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा उद्योग र पसलहरू रहेका छन् । वाणिज्य कार्यालयले ५२ वटा फर्मलाई कारबाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा २२ वटा फर्मलाई कारबाही गरेको कार्यालयले गएको आर्थिक वर्षमा झण्डै तेब्बर फर्ममाथि कारबाही गरेको हो ।

आर्थिक वर्ष २०७७–७८ मा वाणिज्य कार्यालयले ठूला सपिङ सेन्टरहरूलाई पनि कारबाहीको दायरमा ल्याएको छ । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गर्नेदेखि खरिद मूल्यभन्दा अत्यधिक मुनाफा राखेर कालोबजारी गर्ने ठूला सपिङ सेन्टरलाई वाणिज्य कार्यालयले कारबाहीको दायरमा ल्याएको वाणिज्यका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार आर्थिक वर्ष २०७७–७८ मा १ हजार ८ सय ३९ वटा नयाँ फर्म दर्ता भएका छन् । नवीकरण÷संशोधन ३ हजार ३ सय ६ र खारेजी दुई सयवटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ ।

प्रदेश १ का १४ जिल्ला कार्यक्षेत्र भएपनि कार्यालयले मोरङमा मात्र अनुगमन गर्दै आएको थियो । तर, गएको आर्थिक वर्षमा मोरङबाहेकका ६ जिल्लाहरूमा पनि वाणिज्यले अनुगमन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा कार्यालयले मोरङसँगै सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको निमित्त प्रमुख पोखरेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस