मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० त्रिबेणी चोकस्थित शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियारधारी समुहलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा संखुवासभाको बारबिसे–६ घर भइ हाल ईटहरी–२० तरहरा बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भइ हाल ईटहरी–२० तरहर बस्ने ३९ बर्षीय चन्द्र बहादुर राई, मोरङको सुन्दरहरैचा–५ का २२ बर्षीय मिशन राई, भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भइ हाल ईटहरी–२० तरहरा बस्ने ३० बर्षीय नगेन्द्र राई र सुन्दरहरैचा–७ का ३१ बर्षीय संतोष राई छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ, १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुले हिजो सुनसरी र मोरङको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुले गत साउत १ गते दिउसो साढे १ बजे एसएमजी र पेस्तोलसहितका हतियार देखाएर ज्वेलर्समा लुटपाटको प्रयास गरेका थिए ।
घटनाको जानकारी पाएसँगै अनुसन्धान थालेको प्रहरीले उनिहरुको साथबाट एसएमजी एक थान, सोमा लाग्ने एक थान म्याग्जिन र ६२ राउण्ड गोली, एक थान कटुवा पेस्तोल, १ थान अटोमेटिक पेस्तोल, सो लाग्ने एक थान म्याग्जिन, ३०३ राईफलको ४ राउण्ड गोली बरामद गरिएको छ ।
यसैगरी उनिहरुले प्रयोग गरेका को २ ह २७३६ अटो टेम्पु, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ । उनिहरुमाथि हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।