राजविराज आइपुग्यो अक्सिजन प्लान्ट, साताभित्रै स्थापना हुने

राजविराज, १३ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री आज राजविराज आइपुगेको छ ।

दैनिक दुई सय सिलिण्डरसम्म भर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट अस्पतालले स्थापना गर्न लागेको हो । त्यसका लागि आवश्यक सामग्री आउने प्रतीक्षा भइरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्तालमा ल्याइएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झाले जानकारी दिए ।

उनका अनुसार प्लान्ट स्थापना गर्न सेड तयार भइरहेको र ग्राउण्डमा ढलान कार्य मात्रै बाँकी रहेकोले ती कार्य भएसँगै प्लान्ट स्थापना भइसक्नेछ । ‘साताभित्रै प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउने हाम्रो तयारी छ’ उनले मधेशलाइभसँग भने–‘अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि यहाँकासाथै जिल्लाभरका अस्पताल, उदयपुर, सिरहा, सुनसरीसहित आसपासका अस्पतालमा पनि अक्सिजन आपूर्ति गर्न हामी सक्षम हुनेछौं ।’

उनले अस्पतालमा देखिएको जनशक्ति अभाव पनि छिटै परिपूर्ति भइसक्ने दावी गरे । ‘काठमाडौं बसाइको क्रममा अस्पतालमा रहेको जनशक्ति अभावबारे पनि सम्वन्धित ठाउँमा कुरा राखे र २/३ दिन साताभित्र नै जनशक्ति परिपूर्ति भइसक्ने भन्ने आसवान पाएको छु’, उनले भने ।

हाल अस्पतालमा ७ वटा भेन्टिलेटरसहित १५ शैय्याको आइसियू र १० शैय्याको एनआइसीयू तयार अवस्थामा रहेको मेसु झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस