१३ सय घर सप्तकोशीको उच्च जोखिममा

जनकपुरधाम । सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्र उच्चजोखिमा परेका छन्। लगातारको वर्षाका कारण कोशीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका क्षेत्रमा कटान गर्न थालेपछि आसपासका बस्ती उच्चजोखिममा परेका हुन्।

बेलका नपा वडा नं ८ लाहुरेखोज दक्षिण २ सय मिटर क्षेत्र र श्रीलंका टापुमा कोशीले तीव्र कटान गरेपछि जोखिममा रहेका आसपासका वडानं २,३,९, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका र कन्चनरुप नगरपालिकाका स्थानीयलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको हो।

कटान नरोएिपछि जुनसुकै बेला कोशीले धार परिवर्तन गर्न सक्ने भन्दै प्रशासनसँगको समन्वयमा नगरपालिकाले आसपासका बस्ती संरक्षणका लागि अपिल जारि गरेको छ। नगर प्रमुख दुर्गाकुमार थापाले नगर क्षेत्रका बस्ती उच्च जोखिममा रहेकाले संकटको बेलामा संघीय र प्रदेश सरकारलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

उनले भने, ‘आकाशको पानी रोकिएको छैन, कोशी ब्यारेजका ढोका पर्याप्त खोलिएका छैनन्, थप ढोका खोल्ने प्रयास भइरहेको छ, त्यसैले यसै भन्ने अवश्था छैन, खतराको संकेत बढेको छ।’ प्रमुख थापाले कटान नियन्त्रणका लागि संघीय सरकारको गृहमन्त्रालय र प्रदेश सरकारसँग कुरा भइरहेको बताए।

नदी आसपासका करिव एक हजार तीन सय घरधुरी उच्चजोखिममा रहेकाले नजिकमा रहेका विद्यालय, पार्टी, पौवा, सार्वजानिक स्थलमा स्थान्तरण गर्ने तयारी भइरहेको उनले बताए। ‘हाम्रो पहिलो प्रयास जनताको ज्युधन सुरक्षा गर्नु हो’, उनले भने, ‘नदी संरक्षणका लागि जनसहभागितामा काम भइरहेको छ, अर्कोतर्फ स्थान्तरणको काम पनि अघि बढाएका छौं।’

नगरबासीलाई सुरक्षित र सतर्कता अपनाउन माइकिङ्ग, प्रचारप्रसार भैरहेको उनले बताए। मेयर थापाले आफ्नो फेसबुक स्टाटसमार्फत कोशी कटान रोक्न सामुहिक प्रयासको लागि सेना, प्रहरी, स्वयम्‍सेवक, जनप्रतिनिधि र सम्पूर्ण टप्पुबासी जनसमुदायलाई सहयोगको अपील गरेका छन्।

उनको स्टाटसमा भनिएको छ, ‘अब रात पर्न लाग्यो, हामी, कोशीको ढोका खोल्ने, माइकिङ्ग गर्ने, सबै सुरक्षा निकाय र स्वयम्सेवक परिचालन गर्ने कोसिस गरिरहेका छौं, नदि किनारका सबै जनसमुदायलाई सचेत र सुरक्षित रहन आग्रह गर्दछौं।’

बस्ती जोखिमा परेपछि निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बेलका नगरपालिकामा जिल्ला विपद् व्यवस्थापन समितिको आकास्मिक बैठक बसेको छ। बैठकले तत्काल तीन सय मिटर कटान क्षेत्रमा जिल्ला सिचाई कार्यालयबाट प्राप्त आठ हजार बोरा र ५० थान जालीले तटबन्धन गर्ने निर्णय गरेको निमित्त प्रजिअ पोखरेलले बताए।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार सप्तकोशीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो। पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रति सेकेन्ड बहाव पुगेको छ।

यसअघि साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेन्ड बहाव मापन गरिएको थियो। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। पूर्वका अधिकांश भूभागमा वर्षा जारी रहेकाले कोशीमा पानीको वहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस