अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता, दुई दशक लामो अफगान युद्ध समाप्त

बीबीसी/रोयटर्स । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झण्डै २० वर्षपछि आफ्नो सम्पूर्ण फौज फिर्ता गरी दुई दशक लामो अफगान युद्ध समाप्त गरेको छ । योसँगै दुई दशकपछि सत्तामा तालिबानको पुनरागमन भएको छ ।

यूएस सेन्ट्रल कमान्डका प्रमुख जनरल केनेथ मकेन्जीले अमेरिकाले फिर्ता हुने कार्य पूरा गरेको पुष्टि गरेका छन् । हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टी विमान उडेसँगै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको बताए ।

उनका अनुसार दुई दशक लामो अफगानिस्तान बसाइमा अमेरिकाले दुई हजार चारसय  अमेरिकीले ज्यान गुमाएका छन् । गत बिहीबार भएको आत्मघाती विस्फोटमा परी १३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

तालिबानसँग भएको सहमति अनुसार अगस्ट ३१ को समयसीमाभित्रै अमेरिकी फौज फिर्ता भएको हो । तालिबानले अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । त्यसयताका दुई हप्तामा अमेरिका र उसका साझेदार राष्ट्रले १ लाख २३ हजार भन्दा बढी सर्वसाधारणको उद्धार गरेका छन् ।

अमेरिकी फौज फिर्ता भएसँगै तालिबानले खुसी मनाएका छन् । रात्रीकालीन आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर उनीहरूले खुसी मनाएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस