मिडिया हाउसको बदमासीः पत्रकार भन्दै पैसा असुली गर्नेलाई प्रेस कार्ड !

राजविराज, २३ असोज । सप्तरीका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरको नाममा ‘प्रेस’ कार्ड वितरण गरेको कार्य प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ ।

महासंघले शनिवार सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरुले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको उल्लेख गरेको छ । महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले यहाँका पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरुलाई सचेत गराइएको छ ।

यद्यपी, सो कार्य दोहोरिएको पाइए कारवाहीकालागि सम्बन्धित निकाय समक्ष महासंघ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितीको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति हुने सूचनामा उल्लेख गरिएको छ ।’

यस्तो छ सूचनाः

‘पत्रकारिता क्षेत्रमा सप्तरी जिल्लाले आफ्नो छुट्टै इतिहास बनाएको छ । समाजसेवालाई अग्रपंक्तिमा राखी समाज, जिल्ला र देशको हितलाई सदैव ध्यानमा राखी यहाँका पत्रकार कलम चलाउँदै आएका छन् । पछिल्लो समयमा जिल्लामा खुलेका केहि नयाँ अनलाइनले जथाभावी तरिकाले रिपोर्टरको नाममा केहि व्यक्तिलाई ‘प्रेस’ कार्ड बितरण गरेको र ती कार्डधारी, ती व्यक्तिले पत्रकार भन्दै बिभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएको छ ।
एक त अनलाइन संचालन गर्ने व्यक्ति आफैं समाचार सामग्री उत्पादन गर्नुको साटो काँपी पेष्ट गर्ने र त्यसमा कहिले पनि पत्रकारिताको ‘प’ समेत नबुझेका व्यक्तिलाई कार्ड दिएर रकम असुलीको प्रयासमा लगाउने कार्यले यहाँको पत्रकारितालाई बदनाम गर्नेबाहेक केहि गर्देन् । यस्ता काम नगर्न सचेत गराउँछौं ।

यो काम दोहोरिएको पाइएमा कार्वाहीका लागि सम्बन्धित निकाय समक्ष नेपाल पत्रकार महासंघ, सप्तरी शाखा अगाडि जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेबार स्वयं ती अनलाइन र कार्डधारी ब्यक्ति हुने जानकारी गराउँदछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस