केएल राहुल र इशान किशनको आक्रमक ब्याटिङमा भारत विजयी

जनकपुरधाम । केएल राहुल र इशान किशनको आक्रमक ब्याटिङप्रेरित भारतले गएराति आईसीसी ट्वान्टी–२० विश्वकप अघिको अभ्यास खेलमा इङ्ल्यान्डमाथि सात विकेटको विजय हासिल गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८८ रन बनाएको थियो । केएल राहुलले ५१ र इशान किशनले ७० रन बनाएपछि भारतले १८९ रनको लक्ष्य १९ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

राहुलले २४ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । किशनले ४६ बलमा सात चौका र तीन छक्कासहित ७० रन बनाउँदा रिटायर्ट हर्ट भए । राहुललाई मार्क उडले मोइन अलीमार्फत क्याच गरे । कप्तान विराट कोहलीले ११ रन बनाउँदा सूर्यकुमार यादव आठ रन बनाएर पवेलियन फर्किए । विकेटकिपर रिशब पन्त २९ र हार्दिक पाण्डेय १२ रनमा अविजित रहे ।

इङ्ल्यान्डका डेबिड विले, उड र लियम लिभिङस्टोनले एक/एक विकेट लिए ।

त्यसअघि इङ्ल्यान्डका लागि जोनी बेयरिष्टोले सबभन्दा ४९ रन बनाए । मोइन अली ४३ रनमा अविजित रहे । लिभिङस्टोनले ३० र जसन रोएले १७ रन बनाउँदा जोस बट्लर र डेविड मालनले समान १८ रन बनाए ।

भारतका मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह र रहुल चहरको नाममा एक/एक विकेट रह्यो ।

भारतले २४ अक्टोबरमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेलबाट आईसीसी ट्वान्टी–२० विश्वकपको सुरुआत गर्नेछ । इङ्ल्यान्डले पहिलो खेल वेष्ट इन्डिजविरुद्ध २३ अक्टोबरमा खेल्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस