नमूना विद्यालय बनाउने प्रयासः जब सांसद रामअशिष बने मास्टर

जनकपुरधाम, २० मंसिर । प्रदेश–२ का सांसद रामअशिष यादवले जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ तेतरिया स्थित आधारभूत निम्न माध्यमिक विद्यालयको स्थलगत शैक्षिक सामग्री उपलब्ध गराएका छन् ।

विद्यालय सुधार अभियान अन्तर्गत सांसद यादवले विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिति तथा शैक्षिक सुधारका लागि कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई अंग्रेजी शब्दकोष र कापी उपलब्ध गराएका हुन् । विद्यालयको निरीक्षण पश्चात आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक श्याम साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीको संसदीय दलका उपनेता समेत रहेका प्रदेश सभा सदस्य यादव, आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, रिलेटिभ नेपालका निर्देशक जयप्रकाश मण्डल, अंग्रेजी शिक्षक रामसुन्दर कामत, महिला शिक्षक टिका साह लगायतले शिक्षाको महत्वबारे मन्तब्य व्यक्त गरे ।

कार्यक्रम पश्चात प्रदेश सांसद यादवले कक्षा ८ का विद्यार्थीहरुलाई अंग्रेजी विषय पढाएका छन् । उनी सांसदमा निर्वाचित हुनु अघि अंग्रेजी शिक्षक थिए । कक्षाकोठामा उनले पढाउन थालेपछि विद्यार्थीहरु खुशी देखिन्थे । उनको पढाउने शैली देखेर शिक्षकहरु समेत प्रभावित भएका छन् । यस्तै प्राधिकरण अध्यक्ष र रिलेटिभ नेपालका मण्डलले क्रमशः कक्षा ७ र ६ का छात्रछात्राहरुलाई जीवन उपयोगी सीप र सञ्चारमाध्यमको उपयोगिताबारे जानकारी गराएका छन् ।

शिक्षा सुधार अभियान अन्तर्गत चार वर्ष अघिदेखि विद्यालय परिसरमा प्रदेश सांसद यादवले सरसफाई, शैक्षिक सामग्री वितरण, बृक्षारोपण लगायतका कार्यक्रमहरु गर्दैआएका छन् । विद्यालयसम्म पुग्ने बाटो निर्माण, विज्ञान प्रयोगशाला, खेलकुद सामग्री, स्मार्ट कक्षा र ई कक्षा सञ्चालनकालागि आफुले पहल एवम् सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त विद्यालयमा मनहरपुर, तेतरिया, बेलौनी, मणीपट्टी लगायतका गाउँका करिब तीन सय छात्रछात्रा अध्ययनरत छन् । प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुको मेहनत तथा सहयोगी मनहरुको प्रोत्साहनका कारण उक्त विद्यालय त्यसक्षेत्रकै नमूना विद्यालय बन्नेतर्फ उन्मुख भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस