सप्तरीमा आफ्नै देवरले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाए

राजविराज, २३ माघ । सप्तरीको बोदे बरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारी साहको उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

गत शुक्रवार विहान २० वर्षीय प्रमेश्वर साहले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घरमै रोटी पकाइरहेकी रामकुमारीमाथि पेट्रोल छर्केर आगो लगाएपछि जलेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा उनको मृत्यु भएको परिवारजनले बताए । राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले उनको देवरको खोजी भइरहेको बताए । ‘सुरुमा आगलागीमा परेर घाइते भएकी बताइए पनि अहिले उनको देवरले नै पेट्रोल छर्केर आगो लगाइदिएको कुरा आइरहेकोले उनको खोजीसँगै थप अनुसन्धान थालेका छौं’ उनले भने–‘शव पनि पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस