मधेशी एकता समाजद्वारा वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई डेढ लाख सहयोग

राजविराज, ११ फागुन । मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली नागरिक योगेन्द्र भेडिहरको परिवारलाई आज (बुधबार) आर्थिक सहयोग गरेको छ ।

समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित मृतक भेडिहरको घरमा पुगेर १ लाख ५० हजार आर्थिक सहयोग गरेकी हुन् । अध्यक्ष डा. यादवले मृतककी पत्नी रुबी राउतलाई १ लाख ४० हजारको चेक र १० हजार रुपैयाँ नगद हस्तान्तरण गरिन् ।

मृतकको पत्नी र नौ महिनाकी छोरी रहेका छन् भने परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । मृतक भेडिहार भ्रमण भिसामा युएई गएका थिए । भ्रमण भिसामै रहेको बेला उनले जागिर पाए । तर, श्रम स्वीकृति र जीवन बीमासहित अन्य जरुरी कागजात पनि उनीसँग थिएन ।

कामबाट फर्किएर राति सुत्न गएका भेडिहारको पुस ५ गते मृत्यु भएको थियो । कागज दुरुस्त नभएकोले उनको शवलाई नेपाल फर्काउन निकै कठिनाइ भयो । मृतक भेडिहारले काम गर्ने कम्पनीले आवश्यक कागजातको अभाव र कानुनी व्यवस्थाका कारण उनको शवलाई स्वदेश पठाउन अस्वीकार गदैआएका थिए ।

मृतकसँग श्रम स्वीकृति नरहेको र बीमा समेत नरहेकोले पहलकर्ताहरुले प्रशासनिक कठिनाइका साथै आर्थिक कठिनाइको सामना गर्दै उनको शव नेपाल ल्याउन अभियान थालिएको थियो ।

सो अभियानमा जोडिदै मधेशी एकता समाजका उपाध्यक्ष श्रीकृष्ण ठाकुरले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी गत फागुन ४ गते राति नेपाल वायु सेवा निगमको जहाजबाट उनको शव स्वदेश पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

मधेशी एकता समाजका अध्यक्ष डा. रविन्द्र कुमार यादवका अनुसार शव नेपाल फर्काउने काममा समेत सन् २०२१ मा दुबईमा स्थापना भएको समाजले आर्थिक सहयोग गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस