जिन्सी शाखाका कर्मचारी रोहिताको अटेरी !

राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका एक जना कर्मचारीको अटेरीले अस्पताललाई प्रशासनलाई सास्ती भएको छ । जिन्सी शाखाका कर्मचारी (अधिकृत छैठौं) कामेश्वर प्रसाद रोहिताले अटेरी गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको पत्रअनुसार रोहितालाई ०७७ भदौ ३० गते नै भु तथा जलाधार व्यवस्थापन कार्यालय लहानमा पदस्थापन संशोधन गरिएको थियो । जसअनुसार गत पुस ३० गते अस्पताल प्रशासनले सरकारी नगदी जिन्सी तथा अन्य महत्वपूर्ण कागजातहरु अस्पतालका नायब सुब्बा (नासु) रेमन्त कुमार यादवलाई बरबुझारथ गरी रमाना पत्र लिन भनेको छ । तर, रोहिताले अन्य समानहरुको बरबुझारथ गरेता पनि जिन्सी शाखाका सरसमानहरुको बरबुझारथ नगरेको अस्पताल प्रशासनको भनाइ छ ।

सो कारणले अस्पतालको सेवा प्रवाहमा समस्या भइरहेता पनि जिन्सी शाखाको सरसमानहरु बरबुझारथ नगर्ने रोहिताको मनसाय देखिएको अस्पताल प्रशासनले जनाएको छ । बाध्य भएर सरोकारबालाहरुको निगरानीमा ती सरसमानको मुचुल्का तयार पार्ने तयारी गरिएको छ ।

मुचुल्का तयार गर्नका लागि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।

उता, रोहिताले आफ्नो सरुवा नै नभए पनि रमाना बुझ्न जबरजस्ती गर्दै आएको प्रतिक्रिया दिए । ‘बरबुझारथ अन्तिम चरणको कुरा हो । मेरो सरुवा नै भएको छैन्, यसअघिको सरुवा मेरो बदर भइसकेको छ ।’ उनले भने–‘जबरजस्ती मलाई सरुवा दिइरहेको छ । त्यो त भएन नि । बाँकी बरबुझारथको लागि मैले फागुन १५ गतेसम्मको समय माग गरेको छु ।’

त्यो समयभित्र बरबुझारथ दिने रोहिताको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस