मतदाता नामावली अद्यावधिक कार्यक्रमः दाबी विरोध कहिलेसम्म गर्न पाउने ?

राजविराज, १५ फागुन । जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी वैसाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालयले जिल्लाका १८ वटै स्थानीय तहका मतदाताका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालयले आइतवार राजविराजमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले यही फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटिहरुलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १३, १४, १५, १६ र १८ बमोजिम मतदाताहरुले निवेदन दर्ता गराउन सकिने जानकारी दिए ।

जिल्लामा ४ लाख १३ हजार ८ सय ९२ जना मतदाता संख्या रहेकोमा ती मतदाताहरुको नामावलीमा केही त्रुटि भए, झुठो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताहरुले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए ।

उनले दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको बताए । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरुले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरुले आफ्नो मतदाता नामवालीबाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरी ४ दिनसम्म निवेदन दर्ता गराउन सकिने उनले बताए ।

त्यस्तै, कसैले झुठो विवरण पेश गरी मतदाता परिचयपत्र प्राप्त गरेको छ भने त्यसको लागि प्रमाणसहित मात्रै निवेदन दर्ता गराउनुपर्ने छ । मतदाता परिचयपत्र नष्ट भएको वा हराएको अवस्थामा यही फागुन २० गतेसम्म सम्बन्धित वडाको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने निर्वाचन अधिकारी जोशीले बताए ।

कार्यालयमा आएका निवेदनअनुसार जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी त्रुटि सच्याउने र सो विवरण निर्वाचन कार्यालयमा प्रकाशन गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षता तथा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अन्तरक्रियामा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादव, एसपी अविनारायण काफ्ले लगायत राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस