कसले बनायो राजदेवी सडकलाई कब्रिस्तान रोड ?

राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित राजदेवी चोक हुँदै झल्हीसम्म पुग्ने राजदेवी सडकको नाम परिवर्तन गरेपछि टिकाटिप्पणी सुरु भएको छ । वर्षौदेखि राजदेवी सडक भनेर चिनिने सो सडक खण्डलाई ‘गूगल डायरेक्शन’मा कब्रिस्तान रोड भनेर नामकरण गरिएपछि टिकाटिप्पणी सुरु भएको हो ।

‘सानैदेखि हामी त्यही सडक भएर राजदेवी स्कुल जान्थे र उ बेलादेखि नै त्यो सडकलाई राजदेवी सडक भनेर चिन्थे, तर अहिले त्यो सडकको गूगल डायरेक्शनमा नाम नै अर्कै हेर्दा दुःख लागेको छ’ राजविराज नगरपालिका वडा नम्वर १० का ४० वर्षीय राजेन्द्र यादवले भने–‘जे वास्तविकता हो त्यही न राख्नुपर्ने/रहनुपर्ने हो। यसरी जसलाई जे मन लाग्यो त्यही नामकरण गरिदिने कार्य सरासर गलत हो ।’

केही बुढापाकाहरुले त्यो सडकलाई झल्ही सडक, सिंचाइ रोड पनि भन्ने गरेता पनि कब्रिस्तान रोड भनेर उच्चारणसम्म नभएकोले गूगल डायरेक्शनमा सुधार हुनुपर्ने उनको भनाई छ ।

वडा नम्वर ९ का जंगबहादुर सिंहले राजविराजको स्थापनाकालदेखि सो सडकलाई राजदेवी सडकको नामले चिनिदैआएकोले कसैले पनि आफ्नोअनुकुल नाम परिवर्तन गर्न नपाउने तर्क गरे । ‘त्यो त नगरको स्थापनादेखि नै सो सडकलाई राजदेवी सडक भन्दै आएका छन। नगरपालिकाको क्षेत्राधिकारको कुरा हो, नगरपालिकाले नामकरण गरेको छ भने मलाई भन्नु केही छैन् तर कसैले मनमानी गरेको छ भने त्यो दुर्भाग्यपूर्ण हो’ उनले भने–‘यसको तत्काल संशोधन हुनुपर्दछ ।’

वडा नम्वर २ का वडाध्यक्ष अरुणकुमार यादवले वर्षौदेखि सो सडकलाई राजदेवी सडक नै भन्दै आएको र हामीले कुनै किसिमले सडकको नामकरण नगरिएको बताए । उनले कसैले मनलाग्दी ढंगले सो गरेको हुनसक्ने भन्दै आपत्तिजनक जनाए । ‘यो कार्य सरासर प्रविधिको दुरुपयोग हो। यस्ता व्यक्तिलाई पहिचान गरी मुद्दा हाल्नुपर्ने रैछ’, उनले मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस