पाइलैपिच्छे लुटिदैछन् उपभोक्ताः राजविराजमा खाद्यान्नदेखि पानीसम्ममा ठगी

राजविराज । बजारमा त्यस्तो कुनै क्षेत्र भेट्न मुश्किल छ, जहाँ उपभोक्ता मर्कामा परेका नहोऊन् । स्वतन्त्र बजार प्रणालीले बलियो ढंगले काम गर्न नसक्दा नुनदेखि सुनसम्म, मूल्य र गुणस्तर दुवैमा सर्वसाधारण उपभोक्ताको दोहोलो हुँदै आएको छ ।

उपभोक्ता हित संरक्षणका लागि विभिन्न कानून र नियमनकारी निकाय पनि छन् । तर, खाद्यान्नदेखि औषधिसम्म, दूरसञ्चारदेखि बैंक तथा वित्तका क्षेत्रसम्ममा उपभोक्ता मर्कामा परिरहेको गुनासो गर्छन् । गुनासो सम्बोधन गर्न नियमनकारी निकायले बजार अनुगमन पनि गर्छन् नै । अनुगमनको क्रममा उपभोक्तालाई अखाद्य वस्तु विक्री वितरण गर्ने दर्जनौं व्यवसायी फेला पनि पर्छन । तर, हरेक पटकको अनुमगनलाई पहिलो पटक भन्दै चेतावनी दिँदै त्यस्ता व्यापारी व्यवसायीलाई छाडिने गरेकोले अखाद्य वस्तु विक्री वितरण बन्द हुनुको सट्टा बढ्दो नै रहेको उपभोक्ताहरुको भनाई छ ।

पछिल्लो पटक सोमवार पनि यहाँका व्यपारीलाई जिम्मेवार बनाउन र उपभोक्तालाई अखाद्य बस्तुको प्रयोगबाट बचाउन संयुक्त बजार अनुगमन टोली परिचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीको नेतृत्वमा खटिएको टोलीले सदरमुकाम राजविराज बजारभरका अधिकांश होटेल, उद्योग तथा किराना पसलहरुमा अनुगमन गरेको छ ।

अनुगमनबाट विक्रि वितरणका लागि राखिएका अत्यधिक परिमाणमा अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत संजयकुमार रामले जानकारी दिए । उनका अनुसार ‘अरहम अक्वा’ नामक प्रा.लिको एक दर्जनबढी पानीको जार नष्ट गरिएको छ । ‘जारमा कम्पनीको लेवल, प्याकेजिङ, लकसम्म लगाइएको थिएन’ उनले भने–‘धाराको पानी पनि भरेर राखेको हुनसक्छ,  ठाउँको ठाउँ सो पानी हामीले नष्ट गरेका हौं ।’

त्यस्तै, फलफुलको पसल र किराना पसलहरुमा विक्रि वितरण गर्न राखिएको म्याद गुज्रेका खाने तेल, खाद्य सामाग्रि, चिसो पेय पदार्थ लगायतका अखाद्य वस्तु जफत गरि तत्कालै नष्ट गरिएको उनले बताए ।

व्यापारी व्यवसायी पहिलो पटकको लागि चेतावनी दिएर छाडिएको र अबको अनुगमनमा त्यस्तो पाइए कानूनअनुसार कारवाही गर्ने उनले बताए । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंह, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नागरिक न्यायीक उपभोक्त मञ्चका जिल्ला अध्यक्ष रामकुमार यादव, उद्योग बाणिज्य संघका उपाध्यक्ष रमेश साह लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस