फरार सूचीका जनप्रतिनिधी नियमित कार्यालयमै कामकाज गर्दै

राजविराज, ८ चैत । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा फरार सूचीमा रहेका जनप्रतिनिधि कार्यालयमै कामकाज गर्दैआएको पाइएको छ ।

डेढ वर्षअघि उच्च अदालत जनकपुर, राजविराज इजलासले सो मुद्दामा जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँसहित चार जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी घरमै रहेर नियमित वडा कार्यालय पुगेर कामकाज गर्दैआएता पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

मियाँसहितकाले झण्डै ९० जना सर्वसाधारणको नाममा सरकारी कागजात, छाप र नागरिकतासम्म किर्ते गरी आर्थिक वर्ष ०७४/०७५, ०७५/०७६ र ०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता निकासा गरी अपचलन गरेका छन् भने उमेर नपुगेका भएपनि किर्ते जालशाजी गरी आफ्ना आसेपासेलाई सामाजिक सुरक्षा भत्ता खुवाएको उनीहरुमाथि आरोप छ ।

वडा कार्यालयले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरण र सो आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीवाट प्राप्त नागरिकता नम्बरहरुको विवरणबाट पनि उनीहरुले एउटै नम्वरको नागरिकतामा फरक फरक व्यक्तिको फोटो राखेर नागरिकता प्रतिलिपी तयार पारेको पाइएको थियो ।

त्यसपछि, अरुणकुमार यादव लगायत स्थानियहरुले २०७७ साल असारमा वडा कार्यालय, नगरपालिकाको कार्यालय तथा भत्ता निकासा दिने स्थानिय बैंकवाट आवश्यक कागजातहरु संकलन गरी विवादित देखिएका व्यक्तिको नाम र नागरिकता नम्बर जिल्ला प्रशासन कार्यालय सप्तरीवाट मिलान गर्दा भत्ता निकासा गरिएका ९० जनाको विवरण फर्जि रहेको देखिएको थियो ।

सोहि आधारमा यादव नै निवेदक भई २०७७ असार १७ गते वडाध्यक्ष मियाँ, वडा सदस्य बेचन यादव, वडा सचिव बिनोद ठाकुर र वडामै कार्यरत करारका कर्मचारी जगदिश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका थिए । तर, कार्यालयले भने जाहेरी दर्ता गर्न मानेन् ।

राजनीतिक प्रभावले जोगिएका छन् मियाँ

यादवका अनुसार प्रहरीले जाहेरी दर्ता नगरेपछि जाहेरीकर्ता जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालय पुगेका थिए । ०७७ असार २६ गते जिल्ला न्यायाधिवक्ता कैलाश दहालले जाहेरी उपर नियमानुसार कार्वाही थाल्नु भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरे । तर, त्यसको ९० दिनसम्म पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् ।

त्यसपश्चात जाहेरीकर्ता उच्च अदालत जनकपुर, राजविराज इजलासमा उजुरी दर्ताका लागि परमादेश मुद्दा दायर गरेपछि ०७७ असोज २२ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरे । यद्यपी, उजुरीमाथि अनुसन्धान लगायतका कार्य गरेनन् । त्यसपछि उजुरीकर्ताले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रादेशिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा जिल्ला प्रहरी कार्यालयमा गरिएको उजुरीको व्योहोरासहित आवश्यक प्रमाणहरु समेत पठाए । तर, उपलब्धी भने केहि भएन् ।

०७७ फागुन २ गते पुनः उजुरीकर्ताले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेश मुद्दा दायर गरे । उच्च अदालतले ०७७ चैत्र २ गते १ महिनाभित्र आरोपीलाई समातेर तहकिकात गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीलाई आदेश दियो । तर, सो अवधिमा प्रहरीले एक जना अभियुक्तलाई पनि नियन्त्रणमा लिन सकेन ।

०७८ असार २१ गते अदालतमा परेको अवहेलना मुद्दामा पुनः अदालतले ०७८ साउन १७ गते आदेश जारी गर्दै सात दिनभित्र चारै जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धान थाल्न भनेका थिए । आदेशपछि अभियुक्त मध्ये वडा सचिव ठाकुरलाई प्रहरीले पक्राउ गरे पनि २५ दिनपछि उनलाई हाजिर जमानमा रिहा गरेको देखिन्छ ।

वडाध्यक्ष मियाँ नेपाली काँग्रेसका नेता हुन् । काँग्रेसको टिकटबाटै उनी गत चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । यसअघि उनी गाविस उपाध्यक्षमा समेत निर्वाचित भएका व्यक्ति हुन् मियाँ ।
नेपाली काँग्रेसको जिल्लादेखि केन्द्रस्तरका नेतामाँझ उनको राम्रो पकड रहेको बताईन्छ । सोहि प्रभावका कारण उनीमाथि प्रहरीले पनि हात हाल्न समस्या मानिरहेको सर्वसाधारणहरु बताउँछन् ।

आरोपहरु निराधार र आफु फरार समेत छैन् : वडाध्यक्ष मियाँ

सप्तरी प्रहरीको रकर्डअनुसार फरार सूचीमा रहेका वडाध्यक्ष मियाँलाई आइतवार खोज्दै जाँदा उनी आफ्नो वडा कार्यालयमा भेटिएन । कार्यालय छेउमै रहेको आफ्नो निवासमा भेटिएका मियाँले मधेशलाइभसँग कुरा गर्दै भने–आफुमाथि लगाइएका आरोपहरु निराधार रहेको र आफु फरार समेत नरहेको बताए ।

हामीसँग कुराकानीपछि उनी पुनः वडा कार्यालय नै पुगे । उनको घरदेखि करिब ५ सय मिटर पुर्वमा ईलाका प्रहरी कार्यालय पातो छ । तर सो ईलाकाले ०७८ मंसिर २८ गते उच्च अदालत जनकपुर, राजविराज ईजलाशसमक्ष पेश गरेको जवाफमा वडाध्यक्ष मियाँसहितका अभियुक्तहरु फरार रहेको उल्लेख छ ।

 

त्यसअघि ०७८ मंसिर ९ गते जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुखको हैसियतमा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले सरकारी वकिलमार्फत उच्च अदालतको ईजलाससमक्ष पठाउनुभएको जवाफमा पनि मियाँसहितका अभियुक्तलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय पातो तथा जिल्ला प्रहरी कार्यालय समेत तदारुकताका साथ लागेको उल्लेख गरिएको छ ।

यद्यपी, सधै गाउँमै देखिने र नियमित कार्यालय पुगेर कामकाग गर्दै आएका वडाध्यक्ष मियाँमाथि प्रहरीको दृष्टि भने पुग्दैन ।

यता, सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले फरार सूचीमा रहेका वडाध्यक्षको खोजी कार्य भइरहेको बताए । ‘उहाँलाई हालसम्म नियन्त्रणमा लिनसकिएको छैन, फरारमै हुनुहुन्छ’ उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस