सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

राजविराज । सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

छिन्नमस्ता गाउँपालिका–१ स्थित तिलाठीबाट आउँदै गरेको को १७ प ८५६३ नम्वरको मोटरसाइकलले बुधवार साँझ विपरित दिशाबाट जादै गरेको साइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा साइकलयात्री तिलाठी कोइलाठी–१ का ४३ वर्षीय सतिश कुमार यादव गम्भीर घाइते भएका थिए । उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक छिन्नमस्ता–१ का २० वर्षीय शंकर भनिने इन्द्रजित कुमार यादव पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस