जिम्मेवारी पाए जनताको भावना अनुरुप काम गर्ने पशुपतिको सङ्कल्प

जनकपुरधाम, २३ वैशाख । समस्यै समस्याका बीच सम्भावनाको बाटो पहिल्याउने वौद्धिक युवा नेता हुन् कमलामाई नगरपालिका वडा नम्बर–२ माची निवासी पशुपति यादव ।

कमलामाई नगरपालिका मेयर पदमा उम्मेदवारी दिई उनी यतिबेला चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा व्यस्त भएका हुन् । माता पञ्ची देवी र विष्णुदेव यादका जेठो सन्तान पशुपतिमा राजनीतिको ललक सानैदेखि थियो । उनले गाउँकै प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा, माध्यमिक विद्यालय खजुरीबाट २०५३ सालमा एस.एल.सी. उतीर्ण गरी जनकपुरधाम स्थित राराब क्याम्पसबाट २०६२ सालमा राजनीतिक शास्त्रममा स्नातकोत्तर (एम.ए.)सम्मको शिक्षा आर्जन गरेका हुन् ।

तरुण दलमा २०५६ सालमा आवद्ध भई राजनीतिमा प्रवेश गरेका उनले युवाहरुलाई सङ्गठित गर्ने अनि सामाजिक तथा राजनीतिक कार्यहरुमा सक्रियता बढाउने गर्दथे । २०६३र२०६४ सालमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा काठमाण्डौ स्थित माइतीघर मण्डलामा संविधानको प्रति जलाईएपछि चर्किएको आन्दोलनमा उनी सक्रिय रुपमाा सहभागी भए । शालिन एवम् वौद्धिक युवाको रुपमा चिनिएका उनको सक्रियताले गर्दा नै २०६४ मा मधेशी युवा फोरम केन्द्रिय सदस्यको जिम्मेवारी पाए । उनले वौद्धिक एवम् नेतृत्व क्षमतालाई बढाउँदै गए । २०७६ सालमा जनता समाजवादी पार्टीको धनुषा अध्यक्षको जिम्मेवारी पाई उनले हालसम्म नेतृत्व गर्दैआएका छन् ।

पशुपतिका पिता माची झिटकैया गाउँ विकास समितिका अध्यक्ष थिए । उनको घरमा नेतादेखि विभिन्न क्षेत्रका व्यक्तिहरुको आउजाउ भईरहन्थ्यो । शायद त्यसैले उनमा पनि राजनीतिको नशा सवार भएको होला । शुरुमा उनका पिताको ईच्छा थिएन कि छोरा राजनीतिमा आओस् । पिता विष्णुदेवले छोरा एमए पढेर क्याम्पसको अध्यापक बनोस् । तर पशुपतिमा राजनीति रङ्ग चढ्दै गएपछि बुवाले समेत नाई नभनी सहयोग गर्न थाले । २०६४ सालमा पूजा कुमारी यादवसँग वैवाहिक बन्धनमा बाँधिएका पशुपतिलाई राजनीतिक यात्रामा अगाडि बढ्न माता पिताको आशिर्वाद र पत्नीको साथ सहकार्य र जनताको मायाले सहज भएको छ ।

परिवारको राजनीतिक विरासतको बिँडो थाम्न अगाडि बढेका ४२ वर्षिय पशुपति स्थानीय युवाहरुलाई सङ्गठित पार्दै दलित–गैर दलित बीचको विभेद विरुद्ध सचेतना तथा विकास निर्माण सम्बन्धी कामलाई अगाडि बढाउँदै गए । पार्टीले आह्वान गरेका संविधानप्रति असन्तुष्टि, सीमामा अवरोध, विरोध प्रदर्शन लगायतका कार्यहरुको नेतृत्व गर्दै राजनीतिको भट्टीमा उनी खारिदै गए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी सचिवालय सदस्य समेतको जिम्मेवारीसँगै उनले कमला नगरपालिकाको विकास निर्माणमा अग्रसरता लिँदै गए ।

पालिकामा शिक्षाको अवस्था जर्जर रहेकोले प्रदेश सरकारको सहयोगमा माध्यमिक विद्यालय माची झिटकैयामा विद्यालय भवन निर्माण, बर्थिङ्ग सेन्टर, आयुर्वेद औषधालय, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरण, कमला कुम्भ घाटमा धर्मशाला निर्माण, पार्क निर्माण कार्य, विभिन्न विद्यालयहरुमा शौचालय निर्माण, नदी नियन्त्रण, कमलामा फाटक निर्माण लगायतका कार्यहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उनी बताउँछन् ।

यसअघिका जनप्रतिनीधिले जनताको भावना अनुरुप काम नगरेको गुनासो गर्दै उनले भने– पालिकाको केन्द्रदेखि विभिन्न वडासम्म पुग्ने सडक नहुँदा जनताले सास्ती झेल्नुपर्ने अवस्था छ, विद्यालयहरुको भौतिक पूर्वाधार र पठनपाठन लथालिङ्ग छ, सिंचाईको अभाव छ, स्वास्थ्य संस्थाहरुमा प्रभावकारी सेवाको अभाव छ, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिकहरुका लागि समेत केही काम भएको छैन, समस्यै समस्या छ । चुनावी अभियानका क्रममा पालिकाका आमजनताको साथ र समर्थन अपार रहेकोले अत्यधिक मतले आफु विजयी हुनेमा मेयर पदका प्रत्यासी पशुपति आशावादी छन् ।

जनताले मेयरको रुपमा निर्वाचित हुने अवसर दिएपछि नगरपालिकाको मुख्य केन्द्रदेखि हरेक टोलसम्म पक्की सडक सञ्जाल विस्तार गर्ने, वडाका विद्यालयहरुको भौतिक पूर्वाधार सम्पन्न बनाई गुणस्तरीय पठनपाठन, वडादेखि पालिका कार्यालयसम्मको सेवासुविधालाई सेवाग्राहीमैत्री बनाउने, सर्वसुलभ स्वास्थ्य सेवा, सिंचाईको व्यवस्था, बृक्षारोपन, कमला नदीको व्यवस्थापन एवम् सौन्दर्यीकरण, महिला, युवा, बालबालिका तथा दलित एवम् विपन्नवर्गलाई लक्षित गरी सीपमूलक तथा रोजगारमूलक कार्यक्रमहरु अगाडि बढाउने पशुपतिको सङ्कल्प छ ।

आफु पदमा नरहेर पनि पालिकामा धेरै कामहरु गरेको विषयमा आम जनतालाई जानकारी रहेको बताउँदै पदीय जिम्मेवारी पाए काम गरेर देखाउने उनको प्रतिवद्धता छ । पालिकामा बजेटको अभाव हुन नदिन प्रदेश सरकार, संघीय सरकार लगायत दातृ निकायहरुबाट सहयोग एवम् सहकार्य गरेर अगाडि बढने पशुपतिको सोच छ ।

Author:



क्याटोगरी छान्‍नुहोस