विवादमुक्त तरिकाले पालिका सञ्चालन गर्ने प्रभाकरको प्रतिवद्धता

राजविराज, २३ वैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जनता प्रगशिल पार्टी, नेपालबाट अध्यक्ष पदका उम्मेदवार प्रभाकर यादव (मनोज)ले विवादरहित तरिकाले गाउँपालिका सञ्चालनका लागि आफु प्राथमिकता दिने कुरा बताएका छन् ।

चुनावी प्रचारका लागि घर घरदैलोका क्रममा वडा नम्वर ६ को कोचाबखारीमा शुक्रवार विहान भेटिएका उनले मधेशलाइभसितको छोटो सम्वादमा यस्तो बताएका हुन् । ‘जनप्रतिनिधिबीचको आपसी विवादले छिन्नमस्ता गाउँपालिका १० वर्ष पछाडी धकेलियो’ उनले भने ‘आफुले जिम्मेवारी पाए विवादरहित तरिकाबाट गाउँको समृद्धि र विकाकालागि काम गर्ने सोच बनाएको छु ।’

छिन्नमस्ता गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि लगायत हरेक जसो क्षेत्रमा समस्यै समस्या रहेको कुरा यसअघि जिल्ला समन्वय समितको संयोजक रहेको बेला आफुले राम्ररी बुझ्ने मौका पाएको भन्दै यादवले ती समस्या हल गर्न हरसम्भव प्रयास जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

विवादका कारण गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा महिनौदेखि शिक्षकले तलबसम्म खान नपाएको भन्दै उनले विवादलाई लम्ब्याएर विकास अघि बढ्न नसक्ने दावी गरे । छिन्नमस्ता गाउँपालिकामा स्वास्थ्य संस्थामा सिटामोलसम्म पाउने अवस्था नरहेको, कृषिका लागि सिंचाईको अभाव रहेको, बाटोघाटोको समस्या विद्यमानै रहेको कारण जनताले विकासको अनुभूति गर्न नपाइरहेको अवस्थामा यस्ता कमजोरी हटाएर आफु अघि बढ्ने उनको भनाई छ ।

उनले भ्रष्टाचार नियन्त्रण गर्दै छिन्नमस्ता गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगतमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजनीति गरी अहिले नयाँ पार्टीका रुपमा जनता प्रगतिशिल पार्टी नेपालबाट उम्मेदवार दिँदा कस्तो महसुस भइरहेको छ? भन्ने प्रश्नमा उनले यो आफ्नो लागि बाध्यता र नयाँ अनुभव पनि रहेको प्रतिक्रिया दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस