प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर गोईतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राजविराज, २७ वैशाख । तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोईत र इन्जिनियर उग्रानन्द पाठकसहित ६ जना विरुद्ध मंगलबार विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेका अन्यहरुमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भूपेन्द्र यादव, एभरेस्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव र अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।

ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य तहत रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई भुक्तानी गरेको भन्ने उजुरी परेपछि आयोगले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो ।

उनीहरुले भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनि गलत विवरण र बीलअनुसार ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको अनुसन्धानबाट पाइएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद अधिकारीले बताए ।

उनका अनुसार भ्रष्टाचार ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम गोईत र पाठकमाथि सजाय माग दावी लिइएको छ ।

त्यस्तै, अन्यहरुको हकमा भ्रष्टाचार ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय माग दावी लिइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस