सप्तरीमा २ बजेसम्म ४५ प्रतिशत मतदान

राजविराज, ३० वैशाख । सप्तरीमा दिउँसो २ बजेसम्म ४५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले एक ठाउँ बाहेक अन्य स्थानमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतदान स्थगित भएको छ । केही व्यक्तिहरुले मतपेटिका तोडफोड गर्दै मतदान अधिकृत विपिन यादवमाथि कुटपिट भएपछि त्यहाँको मतदान स्थगित भएको हो ।

हाल सो ठाउँमा मतदान पुनः सुचारु गर्न सर्वदलिय/सर्वपक्षिय छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । कुल ४ लाख १२ हजार ४४५ जना मतदाता रहेको सप्तरीमा २९७ मतदानस्थलमा ५२६ वटा मतदान केन्द्र कायम गरिएको छ ।

मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसहित कुल ८६१ जना जनप्रतिनिधि निर्वाचित हुने निर्वाचनमा कुल ५ हजार ५२४ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस