मेयर भिमराजको ‘एक्शन’: अस्पतालमा छड्के, फोहर व्यवस्थापनमा पहल

राजविराज, १२ जेठ । सप्तरीको राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादवले निर्वाचनमा होमिएको बेला गरेका प्रतिवद्धताअनुसारको काम थालेका छन् । अघिल्लो दिन शपथ लिएका उनी गत मंगलबार फोहर व्यवस्थापनका कार्य थालेका हुन् ।

वर्षौदेखि फोहरले अस्तव्यस्त रहेको राजविराज नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउनका निम्ति सौन्दयिकरण गर्ने योजना अनुसार ‘ग्रीन, क्लिन र पिंक’अवधारणामा काम गर्ने प्रतिवद्धता जनाएका उनले पहिलो चरणमा फोहर व्यवस्थापनमा सक्रियता देखाएका हुन् । जसको लागि उनले डम्पिङ साइट निर्माणस्थल वडा नम्वर १५ स्थितको जग्गा स्थलगत निरीक्षण गरेका छन् ।

त्यहाँको जग्गा २० वर्षका लागि लिजमा लिएर फोहर विसर्जन गर्ने योजना रहेको बताइएको छ । निरीक्षणपछि बोल्दै उनले डम्पिङ साइटमा आवश्यक पर्ने केही निर्माण सामग्री सहित जग्गामा सोलिङका लागि आवश्यक इटा र माटो खन्नका लागि स्कारभेटर आफ्नो निजी खर्चमा व्यवस्था मिलाउने घोषणा गरे । जग्गाको घेरबेर र आवश्यक व्यवस्था तत्कालै मिलाउन निर्देशन दिँदै उनले फोहर व्यवस्थापन सहित अन्य सुधारको प्रत्याभूति पनि तीन महिनाभित्रै गराउने प्रतिबद्धता जनाए ।

अस्पतालमा छड्के

शपथ लिएको दोस्रो दिन (बुधवार) मेयर यादवले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा निरीक्षण गरे । ओपीडी सेवाको निरीक्षण र विरामीहरुसँग भेटघाट गर्दै मेयर यादवले विरामीहरुबाट आएको गुनासोलाई अविलम्ब सम्बोधन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

निरीक्षणको क्रममा अनुपस्थित देखिएका चिकित्सक स्वास्थ्यकर्मीहरुको हाजिर काट्दै तोकिएको समयमा उपस्थित भएर प्रभावकारी उपचार सेवा दिन अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप कुमार साहलाई निर्देशन निर्देशन दिए ।

साथै अस्पतालबाट दिइरहेको सेवाहरुको अवस्था र समस्या बारे त्यहाँका चिकित्सकबाट जानकारी लिँदै मेयर यादवले चाँडै समस्याहरु समाधानको लागि पहल गरिने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस