‘कपि–पेष्ट’ले अनलाइन पत्रकारिताको विश्वसनियता घट्दोः मन्त्री साह

राजविराज । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले ‘कपि–पेष्ट’का कारण अनलाइन पत्रकारिताको विश्वनियता घट्दो रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामले सप्तरीको राजविराजमा आयोजना गरेको पाँच दिवसीय अनलाईन पत्रकारिता सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले छिटो समाचार पढ्नका लागि सजिलो बनेको अनलाइन सञ्चारमाध्यम’ उनले भने ‘तर, कपि–पेष्टले यसको विश्वनियतामाथि प्रश्न खडा हुने गरेको देखिन्छ, यसतर्फ सबै सञ्चारकर्मी साथीहरु सचेत हुनु आवश्यक छ ।’

उनले केही अनलाइनहरुले आधिकारिकता समेत नबुझि समाचार प्रकाशन गरिरहेकाले त्यस्ता कुराहरुमा पनि सचेत हुन आग्रह गरे । ‘अनलाइन पत्रकारीताले सूचनामा सहज पहुँच भएको छ, तर केही अनलाइन सञ्चारमाध्यमले झुठा समाचारहरु पनि हालेको देखिन्छ’ उनले भने ‘यस्ता खालका विकृतिहरु न्यूनिकरण गर्न पनि यस्ता तालिमले सहयोग पुग्ने विश्वास लिएको छु ।’

अर्को प्रसंङ्गमा बोल्दै मन्त्री साहले अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषय छिट्टै टुंगो लाग्ने जानकारी गराए । ‘आमसञ्चार प्राधिकरणबाट हामीले अनलाइन सञ्चारमाध्यमलाई लोकल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी गरेका छौं’ उनले भने ‘यही १६ गते बस्ने मन्त्रीपरिषदको बैठकबाट सो नियमावली पनि पास हुने छ ।’

कार्यक्रममा गृह तथा सञ्चार राज्य मन्त्री रुबी कुमारी कर्णले युग र समाजको बदलिंदो प्रस्थिती अनुसार विद्युतीय र छापा पत्रपत्रिकामा रुचि घटनु र अनलाइन सञ्चारमाध्यममा बढेको बताइन । ‘एकाइसौं सत्ताब्दीका समाजको आवश्यक्ता नै यही हो’ उनले भनिन् ‘त्यसकारण प्रदेश सरकार तथा आमसञ्चार प्राधिकरणले अनलाइन पत्रकारिता तालिमको सञ्चालन गरेको छ र आउने दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने छ ।’

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सञ्चारकर्मी लक्षित तालिम सञ्चालन गर्न पाउन खुशी लागेको बताए । ‘यो कार्यक्रम सञ्चालन गर्न सकिन्छ कि सकिदैन भन्ने अन्यौलता थियो’ उनले भने ‘केही समस्याहरुका कारण विगतका बर्षमा चाहेर पनि यस्ता खालका तालिम गर्न सकिएको थिएन, आगामी दिनमा पनि प्रदेशभरिका पत्रकार साथीहरुका लागि अन्य कार्यक्रमहरु ल्याउन र सञ्चालन गर्नेतर्फ हामी अघि बढेका छौं ।’

उनले सो कार्यहरु सघाउन सबै सञ्चारकर्मीहरुमा आग्रह समेत गरे । अध्यक्ष यादवकै अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष समेत रहेका प्रशिक्षक श्रवणकुमार देव, प्रशिक्षक सुरेन्द्रप्रसाद गुप्ता, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र सिंह, सञ्चारकर्मीहरु मनोहरकुमार पोखरेल, मालाकुमारी कर्ण लगायतले बोलेका थिए ।

प्राधिकरणकी सदस्य प्रतिमा चौधरी सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थीहरु राधाकुमारी चौधरी, रिन्कि कुमारी गुप्ता र सुरेश रायले तालिमबाट सिकेका कुराहरुबारे जानकारी गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस