संघ सरकारको कुदृष्टिले युवाको समुचित व्यवस्थापन गर्न सकिएनः मुख्यमन्त्री राउत

जनकपुरधाम, १५ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा वेरोजगारीको समस्या समाधान गर्नका निम्ति उद्योग कलकारखानाका साथै स्वरोजगारका कार्यक्रमहरु प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।

बुधवार महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेश सरकारले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेश प्रदेश युवा महोत्सवलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु रोजगारका लागि खाडी मुलुकमा जान बाध्य छन्’ उनले भने–‘प्रदेशमै रोजगारी सृजना गर्न उद्योग कलकारखानाका साथै स्वरोजगारका कार्यक्रमहरु प्राथमिकतामा राखेर अघि बढेका छौं ।’

प्रदेश सरकार युवाहरुको समुचित व्यवस्थापनका लागी अग्रसर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सो कार्यमा संघ सरकारको असहयोग कायमै रहेको बताए । ‘मधेश सरकारले प्रदेशमा प्रहरी भर्ना गर्ने कार्य अघि बढाए पनि संघ सरकारको कुदृष्टिका कारण अहिलेसम्म सो कार्यमा सफलता हासिल सकेनौं’ उनले भने ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतमा आयोजित सो कार्यक्रममा गृह तथा संचार मन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस