मधेश प्रदेशका पत्रकार र सञ्चारगृहका लागि दुई कार्यविधि स्वीकृत

जनकपुरधाम । आमसञ्चार प्राधिकरणद्वारा प्रस्ताव गरिएको मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत भएको छ । विहिवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठकबाट दुवै कार्यविधि स्वीकृत भएको हो ।

पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएसँगै मधेश प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरुले बीमा कार्यक्रमको लाभ लिने बाटो खुलेको छ ।

बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च पाउनेछन् भने सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिनेछ । सो कार्यक्रम यसै आर्थिक वर्षबाट लागु गर्ने तयारी थालिएको आमसञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्तिमार्फत जानकारी दिए ।

त्यस्तै, लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि स्वीकृत भएसँगै यस प्रदेशमा सञ्चालित मापदण्ड पुगेका पत्रपत्रिका, एफ.एम./रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले मधेश प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्ने भएका छन् । त्यस्ता विज्ञापन एवम् सूचनाहरु सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरे वापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिअनुसार भुक्तानी उपलब्ध गराईने अध्यक्ष यादवले बताए ।

उनकाअनुसार लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्य आवश्यक प्रक्रिया पुर्याए अविलम्ब सञ्चालन गरिने तयारी रहेको छ ।

दुवै कार्यविधि गृह तथा सञ्चार मन्त्रालयबाट मन्त्री स्तरिय निर्णय भई अर्थ मन्त्रालय र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय समेतबाट स्वीकृती प्राप्त गरी पुनः मन्त्रीस्तरीय निर्णय भई स्वीकृतीका लागि असार ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस