राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम !

राजविराज, २७ असार । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले सप्तरीमा बजेट सिध्याउनका लागि मात्रै निर्माण गरिरहेको पाइएको छ । समितिले राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा तटबन्ध निर्माण कार्य गराइरहेको छ ।

तर, आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी रहदासम्म १५ प्रतिशत पनि तटबन्ध निर्माण कार्य हुन सकेको छैन् । सो निर्माण कार्यमा पनि स्थान छनोटमा मनोमानी गरेको पाइएको छ भने पारदर्शीता पनि ख्याल गरिएको छैन् ।

कूल २६ लाख रुपैयाँको लागतमा नदीको पूर्वतर्फ माटो, ढुंगा क्रेटिङ र घाँससहित १ सय मिटरको तटबन्ध निर्माण तथा तटबन्धमा विरुवा रोप्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले गोपालनाथ यादवको अध्यक्षतामा बनेको उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

गत जेठ १४ गतेतिर गरिएको सम्झौताअनुसार चालु आर्थिक वर्षभित्रै सो कार्य सम्पन्न गर्नुपर्ने छ । तर, आर्थिक वर्ष सकिन अब एक साता मात्रै रहदा समितिले १५ प्रतिशत पनि तटबन्धन निर्माण कार्य गर्न सकेको छैन् ।

‘हामीसँग १२/१४ गतेतिर सम्झौता नै भयो’ उपभोक्ता समितिका अध्यक्ष यादवले भने–‘अनि हामीले बाँध निर्माण कार्य सुरु गरे, विस्तारै काम गरिहालिन्छ ।’ भुक्तानी माग गर्न कागजात बोकेर निमार्णस्थलमै बसिरहेका उनले अहिले काम गर्ने चटारो रहेकोले बढी कुरा गर्न नमिल्ने प्रतिक्रिया दिए ।

तटबन्ध निर्माणमा अहिलेसम्म माटोको काम २५ मिटर र ढुंगा क्रेटिङको काम ९ मिटर बाहेक अन्य कुनै पनि काम भएको छैन् । ‘यहाँ बजेट सिध्याउन मात्रै काम हुन्छ भन्ने नयाँ कुरा होइन, गत वर्ष पनि तलको पार्टमा यस्तै काम भएको थियो’ स्थानीय किशुन यादवले भने–‘आर्थिक वर्ष सकिन अब सात दिन मात्रै बाँकी छ । कुनै पनि हालतमा काम पूरा गर्न सक्दैन्, तर बुझ्दै जानू चेक तयार अवस्थामा होला ।’ कागज मिलान गरेर बजेट सिध्याउने नियतले सो कार्य गराइरहेको उनको आरोप छ ।

पारदर्शी पनि छैन्

योजनाको निर्माण सुरु गर्नुअघि नै निर्माणस्थलमा होडिङ्ग बोर्ड (निर्माणाधिन योजनाको विस्तृत विवरणसहितको पाटी) राख्नुपर्ने कानूनी प्रावधान छ । तर, २६ लाख रुपैयाँको बजेटमा तटबन्ध निर्माण थालिए समेत सो स्थानमा होडिङ्ग बोर्ड भने राखिएको छैन् ।

‘बजेट सिध्याउन नै तटबन्ध निर्माण भइरहेको स्पष्ट देखिन्छ, सर्वसाधारणलाई अन्यौलमा राख्न होडिङ्गसम्म नराखि हतार–हतारमा निर्माण कार्य भइरहेको छ’ स्थानीय हरिदेव यादवले भने–‘खाँडो नदीको बाढीले दशकौंदेखि यस भेगका सर्वसाधारणलाई पिडा दिँदै आएको छ, नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं बजेट खर्च पनि हुन्छ तर यस्तै अव्यवस्थित खर्चले अझैं बाढीको त्रास कायमै छ ।’

हतारमा ‘ओभरटेक’, कार्य रोक्न पत्राचार

दशकौंदेखि खाँडो नदीका कारण उत्पन्न हुँदै आएको बाढी र डुवानको समस्यालाई न्यूनिकरण गर्न तत्कालिन सिचाईमन्त्री उमेशकुमार यादवको पहलमा २०७२/०७३ मा ‘खाँडो नदी व्यवस्थापन आयोजना’ स्थापना भएको थियो ।

सो आयोजनाले नै खाँडो नदीमा तटबन्ध निर्माणदेखि नदी व्यवस्थापनका अन्य कार्यहरु गर्दै आएको छ । तर, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आयोजनासँग कुनै पनि किसिमले समन्वय गरेको छैन् ।

सो कार्यमा आयोजनाले आपत्ति जनाएको छ भने निर्माण कार्य तत्काल राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वय इकाई, सलकपुर मोरङलाई पत्राचार समेत गरिएको छ ।

‘हामीले हेर्ने बितिकै सो कार्य रोक्न कार्यक्रम कार्यान्वय इकाई, सलकपुर मोरङलाई पत्राचार गरिसकेका छौं’ आयोजनाका प्रमुख एकराज भट्टराईले भने–‘कार्यक्षेत्र त हाम्रो हो नि, हामीसँग सहमति लिएर डिपिआरअनुकुल मात्रै निर्माण कार्य गर्न पाउने हो तर हामीलाई कुनै सोधपुछ नै छैन् ।’

उता, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वय इकाई, सलकपुर मोरङका प्रमुख राजकुमार गुप्ताले सो स्थानमा काम गर्न माथिबाट नै ढिलो गरी बजेट पठाएकाले सम्झौता गर्न पनि ढिलो भएको बताए । ‘थोरै समयकै कारण खाँडो आयोजनासँग पनि समन्वय गर्न सकिएन’ उनले भने–‘र, वडा कार्यालयमार्फत सम्झौता गर्न लगाएर काम सुरु गरायौं, साइट अनुगमन पनि गरे । काम भइरहेको थियो ।’

अनुगमन गर्दा समेत निर्माणस्थलमा योजनाको होडिङ्ग नहुँदा लगाउन भन्नुभएन? भन्ने प्रश्नमा गुप्ताले भने–‘बोर्ड बनाउन दिएको छ र बनेपछि लगाउँछु भन्नुभएको थियो ।’ असार २७/२८ गतेसम्म भुक्तानी गर्न सकिने भएकाले सबै काम नभए माटोको मात्रै भुक्तानी नहुने प्रमुख गुप्ताको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस