असारे बजेटको आतंक : मेयरले निर्वतमान वडाध्यक्ष कुटे

राजविराज, २८ असार । सप्तरीको शम्भुनाथ नगरपालिका कार्यालयमा रातारात भइरहेको भुक्तानीबारे बुझ्न पुगेका एक निर्वतमान वडाध्यक्ष मेयरबाटै कुटिएका छन् ।

घटनापछि मंगलबार पत्रकार सम्मेलन गर्दै वडा नम्वर ६ का निर्वतमान वडाध्यक्ष मो.याकुव राइनले सोबारे जानकारी गराएका हुन् । ‘गत शनिवार राति ९ बजेतिर नगरपालिका कार्यालयमा सयौं मानिसको भीडभाड देखेपछि म पनि पुगे, र लेखा शाखामा पुगेर कोरोना प्रभावित विपन्नहरुको खातामा पैसा जम्मा गरिदिनु भनेर बोलेको मात्रै थिए’ उनले भने–‘त्यतिमै मेयर जितेन्द्रप्रसाद गुप्ता, उनका छोरा अनिलप्रसाद गुप्ता, सरोज मण्डल, रहमत अलि र शिवशंकर राम मिलेर आफुलाई कुटपिट गरे ।’

उनले आफु पनि निर्वतमान जनप्रतिनिधि नै रहेकोले चालु आर्थिक वर्षमा कोरोना प्रभावितहरुले पाउनुपर्ने रकम पठाइदिन भन्नु आफ्नो दायित्व रहेको भन्दै त्यसैको कारण कुटपिट गर्नु अराजक शैली भएको बताए । ‘मेयर आफै र आफ्ना सहयोगीहरुबाट गुण्डागर्दी शैलीमा एउटा जिम्मेवार नेतृत्ववर्गलाई कुट्नु कानूनको ठाडो उल्लंघन हो’ उनले भने–‘यसविरुद्ध हामी चुप लागेर त बस्दैनौं, यहाँ भएका भ्रष्टाचार पनि जनतासामु ल्याएरै छाड्छौं ।’

उनकाअनुसार कोरोना प्रभावित ९२६ जनाले १० हजारको दरले ९२ लाख ६० हजार रुपैयाँ पाउनुपर्ने हो । तर, मेयरको मनपरीले आर्थिक वर्ष सकिन लाग्दा समेत कोरोना प्रभावितले रकम पाउन नसकेको उनको कथन छ ।

गुण्डागर्दी र अनियमितता विरुद्ध ७ राजनीतिक दलको मोर्चाबन्दी

गुप्ता मेयर पदमा निर्वाचित भएसँगै गुण्डागर्दी शैलीमा प्रस्तुत हुँदै आएको भन्दै ७ वटा राजनीतिक दलले मोर्चाबन्दी गरेर आन्दोलन थालेका छन् । मेयरको शैली र नगरपालिकामा भएको भ्रष्टाचार विरुद्ध उनीहरुले मंगलबारै पत्रकार सम्मेलनपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

असार २५ गते रातिको समयमा कामै नभएका सशर्त, विषयगत, वडास्तरीय, नगर स्तरीय, ज्यालादारी कर्मचारीको तलव लगायतका शिर्षक तथा योजनाहरुमा करोडौं रुपैयाँ अनियमितता भएको ज्ञापत्रमा उल्लेख गरिएको छ ।

‘सडक बोर्डको याजनाको कार्य गुणस्तरहिन छ । मधेश प्रदेश सरकारबाट प्राप्त सहयोगमा सञ्चालित योजनाहरु शम्भुनाथ–२ ट्राफिकमा मेयरको घरदेखि पूर्वतर्फ नाला निर्माण, वडा नम्वर ४ सखुवादेखि नरहैया हुँदै काठमाडौं टोलसम्मको बाटो निर्माण तथा ग्राभेल कार्य, नरहैया बौवालाल साहको घर नजिक आरसीसी ढलान, वडा नम्वर ९ बजरहटमा बाटो निर्माणको लागि माटो ग्राभेल कार्य र वडा नम्वर १२ कुसहामा बाटो निर्माणको लागि माटो ग्राभेल कार्य अधुरो अपुरो र गुणस्तरहिन छ । कार्यहरुमा व्यापक आर्थिक अनियमितता भएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ, ‘नगरपालिकामा असार मसान्तमा भएका विकासीय र कतिपय प्रशासकीय कार्यहरु जनविरोधी छ । भ्रष्टाचारयुक्त र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरित छ ।’

ज्ञापन पत्रमा ५ बुँदे माग पनि अघि सारिएको छ । आर्थिक वर्ष ०७८/०७९ मा नगरपालिकाबाट २५ गतेसम्म सञ्चालित योजनाहरुको प्रगति प्रतिवेदन सार्वजनिक हुनुपर्ने, कोभिड पीडित गरिब विपन्नहरुलाई अविलम्ब १० हजारको दरले राहत रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

त्यस्तै, वडा नम्वर ६ का निर्वतमान वडाध्यक्ष एवम् लोकतान्त्रिक समाजवादी पार्टीका नेता राइतलाई कुटपिट गर्ने मेयर गुप्ता, उनका छोरा अनिलप्रसाद, सरोज, रहमत र शिवशंकरलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने, आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम, योजना र बजेट सार्वजनिक हुनुपर्ने तथा मधेश सरकारको सहयोगमा वडा नम्वर २, ४, ९ र १२ मा सञ्चालित योजनाहरुकासाथै सडक बोर्डको योजनाहरु छानवीन हुनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

नेपाली कांग्रेसका नगरसभापति सुरेन्द्र प्रसाद गुप्ता, नेकपा एमालेका नगर समिति अध्यक्ष नारायण चौधरी, नेकपा माओवादी केन्द्रका नेता सुकदेव साह, जनता समाजवादी पार्टीका नगर समिति अध्यक्ष सरोजकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका नगर समिति अध्यक्ष मो.याकुव राइन, राप्रपाका जिल्ला सभापति उम्देश्वर साह र जनमत पार्टीका केन्द्रीय सदस्य मदनेश चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग सम्बोधन नभए थप आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

उता, मेयर गुप्ताले घटनाको बेला आफु कार्यालयमा नरहेको बताए । ‘सो दिन राति १२ बजेपछि सर्भर डाउन हुने समय थियो र राति अबेलासम्म बसेर काम गरिरहेका कर्मचारीलाई धम्क्याउँदै लोसपा नेता राइन पक्षका व्यक्तिहरु गालीगलौज गरेपछि सेवाग्राहीहरुले नै प्रतिकार गरेको कुरा बुझियो’ उनले भने–‘बाँकी यहाँ जडान गरिएको सीसी क्यामराको फुटेजमा पनि स्पष्ट हेर्न सकिन्छ ।’

उनले अनियमितताबारे लगाइएको आरोप पनि निराधार रहेको दावी गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस