प्रहरी हवलदार धामीको व्यवहारले सर्वसाधारण हैरान

राजविराज, २८ असार । सप्तरीको राजविराजमा प्रहरी हवलदार राज कुमार धामीको व्यवहारले सर्वसाधारण हैरान हुने गरेको पाइएको छ । नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार धामीले भुमीसुधार तथा मालपोत कार्यालय अगाडि पार्किङ गरि राखेको मोटरसाइकलको हावा खोलेर सार्वसाधारणलाई हैरान पार्ने गरेका हुन् ।

मालपोतमा सेवा लिन आएका सेवाग्राहीहरु कामका लागि कार्यालयभित्र पसेको मौका पारेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुख दिने गरेको सेवाग्राहीहरु बताउँछन् ।

‘हवलदार धामीले पार्किङमा राखेको मोटरसाइकलको दुबै पांग्राको हावा खोलेर नराम्ररी दुख दिएको छ’ न्युज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङले भने–‘सानो कामले मालपोत कार्यालय छिरेको थिए, पश्चिमतर्फ नो पार्किङ लेखेको बोर्ड देखेर सडकको पुर्व भागमा मोटरसाइकल पार्किङ गरको थिए तर १० मिनेटपछि काम सकेर बाहिरिदा मोटरसाइकल पम्चर भएको पाए ।’

पम्चर कसरी भयो भनेर खोजी गर्दा जाँदा प्रहरी हवलदार धामीले मैले हावा खोले केही भन्नुछ भन्दै ठूलो स्वरले कराउन थालेको पत्रकार तामाङले बताए । ‘पार्किङमा राखेको अन्य गाडिलाई केही नगरी मेरो प्रेस लेखेको गाडीमा मात्र हावा किन खोल्नु भएको? भनी प्रश्न गर’ पत्रकार तामाङले भने–‘हवलदार धामी आवेशमा आउँदै एसपी सा’बको आदेशले हावा खोले भन्दै कराउन थाल्नुभयो ।’

पत्रकार तामाङले दुबै पाग्राको हावा नभएको मोटरसाइकल लिएर एक/डेढ किलोमिटरको मोटरसाइकल डोर्याएर लग्दा लिकुड फेर्नु परेको दुखेसो पोखे ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले तोकिएको पार्किङमा राखेको मोटरसाइकलको हावा खोल्ने हवलदार धामीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई घटनाबारे बुझ्ने बताए । ‘एकै लाइनको अन्य मोटरसाइकलको नखोली प्रेस लेखेको मोटरसाइकलको मात्र हावा खोल्नुको कारणबारे छानबिन गछौं’ उनले भने ।

धामीले राजगढ गाउँपालिका ३ नर्घोका जोगेन्द्र मण्डल, छिन्नामस्ता ६ का शिव नारायण मण्डल, छिन्नामस्ता ३ का सुर्य नारायण झा, डाक्नेश्वरी ४ का विन्देश्वर यादव, बोदेबरसाईन ६ का बाल कुमार यादव लगायतका सेवाग्राहीको मोटरसाइकलको हावा खेलेर दुःख दिएको मलपोत कार्यालय आएका सेवाग्राहीहरुले गुनासो गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस