कमिशनको चलखेलः निर्माण भएको ७ दिनमै भत्कियो मन्दिर

राजविराज, ८ साउन । स्थानीय तहबाट कुनै पनि निर्माण कार्य हुँदा कमिशन विना भुक्तानी नै हुँदैन भनेर सर्वत्र गुनासो छ । निर्माण कार्य ठोस र गुणस्तरयुक्त हुनुपर्नेतर्फ ध्यान दिनुपर्नेमा कमिशनको प्रतिशतमा रमिँदा बेलाबखत जनप्रतिनिधि र कर्मचारीको आलोचना पनि हुने गरेका गर्छन् ।

यसको पछिल्लो संस्करण हो, सप्तरीको तिरहुत गाउँपालिकास्थित बजरङ्गबली मन्दिर । वडा नम्वर २ बडहरामा उपभोक्ता समितिमार्फत अधुरो बजरङ्गबली मन्दिर निर्माण गरिएको छ । तर, निर्माण कार्य सकिएको ७ दिनमै मन्दिर भत्किएको पाइएको हो ।

‘जनप्रतिनिधि र कर्मचारीहरु निर्माण काम ठोस हुनुभन्दा पनि ‘पिसी’ (कमिशन) मा रमाइरहेका छन्’ स्थानीय जगदेव यादवले भने–‘कमसल निर्माण सामग्री प्रयोग गरेर मन्दिर निर्माण गर्ने र बजेट पचाउने नियत देखिएको छ, जसको कारणले ७ दिनमै मन्दिर भत्कियो ।

गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ मा अधुरो मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजना गरेको थियो । तीन ‘स्टेप’को मन्दिर निर्माण गर्न गाउँपालिकाका प्राविधिकले डिजाइन तयार पारेर निर्माण कार्य गराएका थिए ।

गत असार २९ गते मन्दिरको तेश्रो स्टेपमा छत ढलान कार्य भएको उपभोक्ता समितिका सचिव विशो यादवले बताए । ‘असार २९ गतेमा मन्दिरको तेस्रो स्टेपको छत ढलान कार्य भएर ‘सेटरिङ्ग’ खोलिएको थियो, सो पछि विहिबार मन्दिरको छत भत्कियो’ उनले भने–‘निर्माण कार्य सम्पन्न भइसकेपछि चेक पाए तर भुक्तानी लिएको छैन् ।’ उनले पुनःमन्दिर निर्माण गरेपछि मात्रै भुक्तानी लिने बताए ।

मन्दिर भत्किएसँगै स्थानीयहरुले कर्मचारी र जनप्रतिनिधिको आलोचना गरिरहेका छन् भने कमसल निर्माण कार्यमा पनि भुक्तानी गर्न चेक तयार पारिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

उता, सो विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहसँग बुझ्न खोज्दा …..१०७ नम्वरको मोवाइल ‘स्विच अफ’ पारेर राखेका छन् ।

गाउँपालिकाका अध्यक्ष विजयकुमार यादवले अनुगमन गर्ने पदाधिकारी र कर्मचारीले लापरवाही गरेको पाइए कारबाही हुने बताए । ‘अनुगमनको पाटो त उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरसहितकाको हो’ उनले भने–‘मन्दिर कसरी ७ दिनमै भत्कियो, त्यसको जवाफ उहाँहरुबाटै लिनुहोस् र लापरवाही गरेको पाइए हामी कारवाही गर्न पछि पर्दैनौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस