एमाले कम्युनिष्ट होइन्, कमाओनिष्ट होः उपेन्द्र

राजविराज, ११ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेलाई कम्युनिष्ट नभएर कमाओनिष्ट रहेको आरोप लगाएका छन् ।

शनिवार राजविराजमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मधेशीलाई अधिकार विहिन बनाउन नागरिकता नदिने एमालेको नीति नै हो’ उनले भने ‘सोही नीति अनुसार नै नागरिकता विधेयक पनि फिर्ता भएको छ ।’

उनले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा पास हुने र मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न ल्याइएको नागरिकता विधेयक केही समयभित्रै फिर्ता हुनुले एमालेले लिएको नीति स्पष्ट भएको दावी गरे ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारले सोहीअनुसार नै अध्यादेश ल्याउनुभएको थियो र राष्ट्रपतिले पास पनि गर्नुभएकै हो तर नागरिकता विधेयक केही समयभित्रै फिर्ता भयो । यसले एमालेको नीति स्पष्ट हुन्छ’ उनले भने ‘मधेशी जनताको हकअधिकार प्राप्तिका लागि नै आफुहरु सरकारमा रहेर संघर्ष गरिरहेका छौं’ उनले भने ‘लुटेर खाने ती कमाओनिष्टको नीति विरुद्ध सडकदेखि सदनसम्ममा संघर्ष भइरहेको छ ।’

उनले पूर्ण रुपमा अधिकार प्राप्तिका लागि संविधान संशोधनको आवश्यकता रहेको बताए । ‘अहिलेको संविधानमा त्रुटि छ, मधेशी जनताको केही अधिकार संविधानले सुनिश्चित गरे पनि पूर्ण अधिकार प्राप्तिका लागि संशोधनको आवश्यकता छ’, उनले भने ‘यसको लागि आगामी दिनमा लडाइ लड्नुपर्ने छ ।’

जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् कृषि तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् प्रवक्ता मनिष सुमन, पार्टीका राजनीतिक समितिका सदस्य एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका निवर्तमान प्रमुखसहित सयौं नेता–कार्यकर्ताहरुले जसपामा प्रवेश गरे । निवर्तमान प्रमुख प्रभाकर यादव, विवेकशिल पार्टीका केन्द्रीय सदस्य सुमन कुमार मिश्रा, लोकतान्त्रिक समाजवादी पार्टीका पुर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडाअध्यक्ष प्रमिला यादव लगायतका नेता–कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेश नेता कार्यकर्ताहरुलाई जसपा अध्यक्ष यादवले सदस्यता प्रदान गर्दै टिका लगाएर स्वागत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस