मिटरब्याजी पीडितद्वारा जिप्रका अगाडी प्रदर्शन

राजविराज – सप्तरीका मिटरब्याजी साहुकार रामदेव साह तेलीलाई अझैंसम्म पक्राउ नगरिएको भन्दै पीडितहरुले शुक्रवार जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।

राजविराजस्थित शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै उनीहरु प्रहरी कार्यालय पुगेका थिए ।

उनीहरुले कार्यालय अगाडी करिब एक घण्टा नाराबाजी गरेका छन् । मिटरब्याजी ठगी तथा अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधिमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका हुन् ।

यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितिले १२ पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् । यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने तीन महिना अघि नै पक्राउ परी ठगी तथा अपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।

सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर बसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोजतलास कार्य जारी राखेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस