यसरी चलाउँछन् सप्तरीमा सशस्त्र प्रहरीले पैसा उठाउने धन्दा (स्थलगत)

राजविराज – सहकर्मीकै प्रत्यक्ष संलग्नतामा सशस्त्रका असई सत्यनारायण यादवको हत्या भएको आशंकामा एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । तस्करीको प्रतिकार गर्दै आएका यादवको सोही कारणले हत्या भएको हुनसक्ने प्रहरीकै प्रारम्भिक अनुसन्धानले देखाउँछ । तर, पनि सप्तरीमा सशस्त्र प्रहरीले व्यापारीसँग पैसा उठाउने र तस्करलाई सघाउने कार्य रोकेको छैन् ।

पछिल्लो पटक बोर्डर आउट पोष्ट (बीओपी) तिलाठीका असई, हवल्दार र जवान मिलेर व्यापारीसँग पैसा उठाउने गरेको प्रमाण फेला परेको छ । असई अरुणकुमार मण्डल, हवल्दार राचन्द्र माझी र जवान हर्क भुजेल मिलेर भारतबाट नेपालतर्फ भित्र्याइएका तरकारीमा पनि प्रति व्यापारी ५० देखि १ सय रुपैयाँ उठाउने गरेको पाइएको हो ।

विहिबार दिउँसो भारतीय बजार कुनौलीबाट खरिद गरेर ल्याइएको तरकारी तिलाठी बजारस्थित सिटीमा लोड गरियो । सशस्त्र प्रहरीले पैसा उठाउने गरेको गुनासो आएसँगै सो दिन मधेशलाइभका टिम पनि सोही ठाउँ पुगेका थियौं ।

प्रमाण नै चाहिन्छ भने तरकारी वा अन्य केही समान लोड गरिएको सिटीमै चढ्नुपर्ने स्रोतले बताएअनुसार सो सिटीमा म पनि चढे । चालकसहित पाँच जना सवार रहेको सो सिटी राजविराजतर्फ मोडियो । र, सुरु भयो प्रमाण जुटाउने यात्रा । करिब एक किलोमिटरको दुरी पार गरेपछि खाँडो पुलस्थित सशस्त्र प्रहरीको चेक पोष्ट आइपुगे ।

चेक पोष्टमा बसेकामध्ये जवान हर्क भुजेलले हात देखाउँदै सिटी नजिक आइपुगे र सवैलाई सिटीबाट ओर्लिन आदेश गरे । ‘जो ५० रुपैयाँ दही न’ (गएर ५० रुपैयाँ दिइहाल्नु) भनेर सिटी चालकले व्यापारी महिलालाई भने । महिला पनि ओर्लिन् र ५० रुपैयाँ हर्कलाई दिइन् ।

अब ओर्लिने बेला मेरो भयो । र, ओर्लिए पनि । ओर्लिएसँगै सर तपाईले के वापत यो पैसा लिनुभयो भनेर हर्कलाई सोधे । हर्क त एकछिन अकनबक भए । पहिले त कुन पैसा भनेर उनले पनि प्रश्न नै गरे । हातमा माेबाइल देखेपछि एकैछिनमा चटपटेको लागि दिएको थिए र चटपटे नपाएपछि सोही पैसा फिर्ता गरेको हर्कले भन्नसम्म भ्याए ।

पछि कमाण्डरलाई बोलाइदिन्छु भनेर उनी भित्र झिरे र भित्रबाट कमाण्डर लिएरै निस्किए जवान हर्क । तबसम्म हामीसँग टोलीमा पुगेका भाइ प्रवेशकुमार मिश्र (बाबुल) पनि त्यहाँसम्म आइपुगे । भाइ बाबुल अर्थ टेलिभिजनका लागि सप्तरी सम्वाददाता हुन् ।

कमाण्डर भनिएका असई अरुणकुमार मण्डल आएसँगै भित्रै गएर कुरा गरौं भनेर आग्रह गरे तर हामीले मानेनौं । पछि सडकमै प्रश्नको युद्ध आरम्भ भयो । प्रश्न उनको थियो, को पत्रकार हाे? को होइन भनेर बुझ्नै मुस्किल छ । तपाई पत्रकारै हो र? खैं कार्ड?

कार्ड देखाएपछि पानी खानु अनि कुरा गरौं न सर भनेर आग्रह गरेछन् । असई मण्डलले यावतका समस्या सुनाएछन् । ‘केही बेरकै लागि आफुभित्र गएको थिए, खैं केटाहरुले के गरिहाल्यौं तर यस पटकलाई माफी पाउँ आइन्दा यस्तो हुँदैन’ भनेर पटक–पटक दोहोर्याए ।

अब त्यस्तो हुँदैन भनेर ढुक्क हुनुस् र चिसो खाँऔं सर । नाइ–नाइ पर्र्दैन सर मैले भनिरहे । तर मण्डलले मानेनन् । यतिकैमा तिलाठी बजारबाटै एउटा बस आइरहेको थियो । सो बसमा पनि चेकपाेष्टसम्म अाइपुग्याे र चेकिंङ सुरु भयो ।

असई मण्डलले हवल्दार रामचन्द्र माझीलाई चेकजाँच गर्न भनेछन् । बसभित्र चेकजाँच गरेर माझी बसबाट ओर्लिए र ओलिएसँगै हाम्रै आँखा अगाडी व्यापारीबाट फेरी १ सय रुपैयाँ उठाए । त्यो दुष्यले सशस्त्र प्रहरीमा कतिसम्म लालच रहेको कुरा पनि बुझियो । तबसम्म समाचार नलेख्ने मनस्थिती बनाइसकेका थिए । किन की भर्खर सेवामा आएका जवान हर्क र असई मण्डलले पटक–पटक माफी मागिसकेका थिए ।

हवल्दार माझीलाई पनि त्यहीँ सोधे, पैसा किन लिनुभयो सर ? चाडपर्वको बेला हो । चिया नास्ता खानै पर्यो सर भनेछन् । सशस्त्र प्रहरी यसैका लागि हो र सर? भनेर असई मण्डललाई सोधे । असईले हवल्दारलाई गाली गर्दै रिस व्यक्त गरे । किन कि त्यो पैसा लिएको दृष्य असई मण्डलले पनि देखेछन् ।
फेरी आफैं बसमा पुगेर ५–७ किलो चिनी र अन्य केही समानहरु पनि निकाले । र, हामीलाई फेरी आग्रह गरियो । यस पटकलाई माफी पाउँ…

हामीसँग माफी मागिरहनु परेन । सिमा सुरक्षा वा जनताको सुरक्षामा खटिएका प्रहरीलाई हामी सम्मान गछौं । तर, केही यस्ता प्रहरीको लालचपूर्ण चरित्रले सिंगो प्रहरी संगठन नै बदनाम भइहरदा दुःखी छु भने असोज २० गते विहान सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा अर्नामास्थित घोडदह खोलामा मृत भेटिएका बीओपी छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादव प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दोषीलाई हदैसम्म कारवाही होस् भनि माग गर्दछु ।

र, असई मण्डल, हवल्दार माझी र जवान भुजेललाई कस्तो कारवाही हुन्छ भने कुरा हेर्न बाँकी छ । स्मरण होस्, सो रुटमा दैनिक डेढ सय पटक जति सिटीबाट समान बोकेर ओहरदोहर हुँदै आएको छ ।

उता, बोर्डर आउट पोष्ट (बीओपी) का इस्पेक्टर कृष्णप्रसाद भण्डारीले त्यसरी पैसा उठाएको पाइए कारवाही गर्ने बताए । ‘भेटेर हामीलाई प्रमाण दिनुस्, कानून अनुसार कारबाही गछौं’ उनले मधेशलाइभलाई भने ।

(यी घटना क्रमको आवश्यक प्रमाण मधेशलाइभसँग सुरक्षित छ)

Author:



क्याटोगरी छान्‍नुहोस