असई हत्या प्रकरण : छानबिन गर्न सशस्त्रका एआईजीको नेतृत्वमा समिति गठन

राजविराज – सप्तरीमा कार्यरत सशस्त्रका असई सत्यनारायण यादवको हत्या प्रकरणमा सशस्त्र प्रहरी बल नेपालले पनि छानबिन सुरु गरेको छ।

बिहीबार घटना छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय समिति नै गठन गरिएको छ । छानबिन समितिको सदस्यहरुमा डिआजी कुमबहादुर नेम्वाङ र छवि पाण्डे रहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए ।

उनले घटनाबारे समितिले छानबिन थालेकोे बताए । ‘आवश्यक परे सो समितिले स्थलगत छानबिन पनि गर्नेछन्’, उनले भने ।

घटनापछि यसअछि गत मंगलबार नै सशस्त्र हेडक्वार्टरले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्रका एसपी प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार घटनाबारे एसपी खड्कामाथि समेत सोधपुछ भइरहेको छ ।

बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते विहान सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा अर्नामास्थित घोडदह खोलामा मृत फेला परेका थिए । यता, नेपाल प्रहरीले पनि घटनामा संलग्नता रहेको आशंकामा बीओपी छिन्नमस्तामै कार्यरत जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस