किर्ते गरी नागरिकता लिएको आरोपीले धमाधम आफ्ना जग्गा बिक्री गर्दै (फ्लोअप)

राजविराज, २८ मंसिर । किर्ते गरी नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध परेको उजुरीअनुसार छानविन भइरहदा महेन्द्रले आफ्ना नाममा रहेका जग्गाहरु धमाधम बिक्री गरिरहेको खुलासा भएको छ ।

महेन्द्रले लगातार दुई दिनमै सप्तरी र सुनसरीमा रहेको ७ वटा कित्ता बिक्री गरेको खुलेको हो । महेन्द्रको नाममा रहेको सप्तरीको पातोस्थित कित्ता नम्वर १(ख)को १६२७ र सुनसरीको भोक्राहास्थित ६ (क) को ८३२, ८३४, ९५५, १११ र १३६९ तथा ८ (ग) को २७६ को जग्गा बिक्री गरेको छ । कित्ता नम्वर १६२७, १११, ८३२ र ८३४ को जग्गा गत साउन ३० गते विक्री गरेको छ भने कित्ता नम्वर ९५५,२७६ र १३६९ को जग्गा गत भदौ १ गते बिक्री गरेको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकले देखाएको छ । जसअनुसार सुनसरीको भोक्राहामा मात्रै उनका नाममा रहेको २ विघा र पातोमा रहेको ६ धुर जग्गा बिक्री भएको हो ।

गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालय सप्तरीमा उनीहरु विरुद्ध परेको उजुरीमा मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी हुन् ।

विधानसभा निर्वाचन क्षेत्र विहान निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमाति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख गरिएको छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छिन’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्ध गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

उजुरीकर्ताले नाम गोप्य राखि दर्ता गराएको सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ ।

उजुरीसँगै उनीहरुसँग बयान र सोधपुछपछि उजुरीमा संलग्न राखिएको ‘भारतीय भोटर आइडी’ बारे वास्तविकताबारे छानबिनका लागि गृह मन्त्रालयले भारतबाट आवश्यक कागजात झिकाउने प्रक्रिया अघि बढाइएको छ ।

उता, मीराले सो आरोपहरु निराधार रहेको बताउँदै आएकी छन् । महेन्द्रले यसअघि चुनावको बेला भएको ऋण फछ्र्यौट गर्न ती जग्गा बिक्री गरेको बताए । ‘ऋण फछ्र्यौट गर्नुपर्ने बाध्यता थियो, त्यसैले ती जग्गाहरु विक्री गर्नुपर्यो ।’, उनले मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस