छिन्नमस्तामा अनियमितताको आरोप लागेपछि सूचना लुकाइँदै

राजविराज, १९ माघ । ‘कमिशन विना कामै हुँदैन’ आरोप खेप्दै आएका सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सूचना पनि लुकाउने गरेको पाइएको छ । पछिल्लो पटक प्रक्रिया विना नै औषधि जस्तो संवेदनशील वस्तु खरिद गरेको पाइएको थियो ।

सो विषयसहितका अन्य योजनाहरुबारे सूचना माग गर्दा सूचना अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मले सूचना दिन अनाकानी गर्दै आएका छन् । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार माघ २८ गते नै माग गरिएको सूचना नदिने गरेका हुन् ।

सूचना अधिकारीलाई सम्बोधन गरी माग गरिएको १५ दिनभित्र सम्बन्धित कार्यालयले सूचना दिनुपर्ने ऐनमा व्यवस्था छ । तर, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवले सो अवधि विताएर पनि अनेक बहाना झिक्न थालेपछि ऐनको व्यवस्थाअनुसार नै पुस २८ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई सम्बोधन गरी सूचना माग गरेको १९ दिन भइसक्दा समेत अनाकानी गर्दै आएका छन् । ‘म माघ २२ गतेसम्म बिदामा छु’ प्रमुख प्रशासकीय अधिकृत यादवले भने, ‘कार्यालयमा मान्छे होला नि, अन्यथा म आएपछि कुरा गरौंला ।’

ऐनको व्यवस्थाअनुसार प्रमुख प्रशासकीय अधिकृतले ७ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने हुन्छ । तर, यादवले १९ दिन विताएर पनि सूचना दिएको छैन् ।

निर्वतमान वडाध्यक्ष समेत रहेका दिपेन्द्रकुमार यादवले गाउँपालिकाबाट सञ्चालन हुने हरेक योजनामा अनियमितता भएको दावी गरे । ‘यहाँ माटोग्राभेलदेखि सडक ढलान हुँदै सामाजिक क्षेत्रमा हुने हरेक काममा २० देखि ५० प्रतिशतसम्म कमिशन लिई काम भएका गराएका छन्, ती सबै काम गुणस्तरहीन छन्’ उनले भने, ‘सूचना उपलब्ध नगराउनुको मुख्य कारण ती अनियमिततालाई लुकाउनु नै हो, हामीलाई पनि सूचना दिँदैनन् ।’

कार्यालय श्रोतका अनुसार औषधि खरिदमा पनि व्यापक अनियमितता भएको छ । ‘जनप्रतिनिधि र केही कर्मचारीले मिलोमतो गरी बजेट पचाउनैका लागि औषधि खरिद प्रक्रिया मिचेको त छ नै, धेरै जसो औषधि त कागजमै सिमित छ’ कर्मचारी श्रोतले भन्यो, ‘यस्ता कारणहरुले सूचना लुकाउने प्रयासमा सबै लागेका छन् ।’

औषधि खरिदको प्रक्रियादेखि परिमाण र खरिद गरिएका औषधिहरु जिएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्रमाणित भएका कम्पनीको हो/होइन भन्ने छानबिन हुनुपर्ने उनको माग छ । गाउँपालिकाले मंसिरको पहिलो साता प्रक्रिया नै पूरा नगरी १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि खरिद गरेपछि  समाचार सार्वजनिक गरेको थियो ।

उता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवले सूचना उपलब्ध गराउने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा गर्ने बताए । ‘उहाँ आएपछि सूचना उपलब्ध भइहाल्छ, यद्यपी म कुरा गर्छु ।’, उनले भने, ‘अनियमितताको कुरा छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस