डिएसपी सिंहको रबैया प्रति पत्रकार महासंघद्वारा खेद व्यक्त

राजविराज – सप्तरीका निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहले समाचार संकलनमा अवरोध पुर्याएको कार्य प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले खेद व्यक्त गरेको छ ।

शाखाका सचिव रामनारायण विश्वासले मंगलबार विज्ञप्ति जारी गर्दै संविधान प्रदत अधिकारलाई लत्याउँदै सप्तरी प्रहरीले समाचार संकलनमा राजविराजस्थित जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारलाई अवरोध पुर्याएको उल्लेख गरेका छन् ।

‘जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको सूचना प्राप्त हुनासाथ नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।’ विज्ञप्तिमा भनिएको छ, ‘तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ । समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको हाम्रो ठहर छ ।’

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भए तापनि सप्तरी प्रहरीको यो कदमले संविधानको समेत ठाडो उल्लघंन भएको ठहर गर्दै यस्ता कदम नसच्याइए बाध्य भएर प्रहरी विरुद्ध संघर्ष थाल्ने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

‘पूर्ण प्रेसमैत्री भएको भनिरहने सप्तरी प्रहरीको यो रबैयालाई सहज रुपमा लिन नसक्ने र यो घटनाप्रति नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘साथै आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस