‘मःम’मा किरा प्रकरण : होला त उपभोक्ता संरक्षण ऐनअनुसारको कारबाही ?

राजविराज, ३ वैशाख । गत शुक्रवार सप्तरी सदरमुकाम राजविराज–३ स्थित सञ्चालित यम्मी स्वीट एण्ड बेकरी उद्योगको ‘मःम’मा किरा भेटियो ।

‘मःम’मा किरा भेटिएसँगै यहाँका उपभोक्ताले कतिसम्म अखाद्य वस्तु खान बाध्य रहेको कुरा छर्लङ हुन्छ । तर, उपभोक्ताको हकहित संरक्षणको जिम्मा पाएको निकाय भने मौन छन् । मानव स्वास्थ्यसँग खेलबाड भइरहदा पनि ती निकायले चासो नलिनु दुखद् रहेको उपभोक्ताहरु बताउँछन् ।

‘उपभोक्ताको हित संरक्षणको जिम्मेवारी वहन गरिरहेको निकायले यसतर्फ गम्भीरता देखाउनुपर्ने थियो तर यतिका भइसक्दा समेत मौन बस्नु वा ती विषयमा सोधखोछसम्म नगर्नु जिल्लावासीका लागि दुखद् विषय हो’ स्थानीय पप्पुकुमार यादवले भने, ‘यस्ता कार्यलाई बढावा दिने हो भने भोलीका दिनमा बजारमा स्वच्छ खानेकुरा पाउनै मुस्किल हुन्छ, त्यस्ता वेपरवाह व्यवसायीलाई कानूनी दायरामा ल्याउनु आवश्यक छ ।’

उनले तत्काल तीसहितका अन्य पसल र उद्योगहरुको अनुगमन हुनुपर्ने माग गरे । ‘प्राय यहाँको चलन हेर्दा चाँडवाडको बेला मात्रै बजार अनुगमन गरेको देखिन्छ, अन्य समयमा व्यवसायीहरुले मनोमानी गर्दै आएका छन्’ उनले भने, ‘चाँडवाड बाहेकको समयमा पनि बजार अनुगमन हुनुपर्छ र मात्रै उपभोक्ताले स्वच्छ खाने कुरा खान पाउँछन् ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले छिट्टै अनुगमन गर्ने कुरा रहेको बताए । ‘निरन्तर अनुगमन भइरहेकै छ’ उनले भने, ‘यहाँ पनि छिट्टै अनुगमन गर्ने हाम्रो तयारी छ ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले उपभोक्ताबाट उजुरी आए कारबाही प्रक्रिया अघि बढाइने बताए । ‘हामी कहाँ उजुरी आए कारबाही प्रक्रिया बढाउँछौं, अनुगमन पनि गछौं नै’, उनले भने ।

गत शुक्रवार दिउँसो यम्मी पुगेका एक १२ वर्षीय बालकको ‘मःम’ मा किरा भेटिएको थियो । ‘आधा मःम खाइसकेपछि चम्चामा किरा देखेँ अनि मात्र थाहा भयो’ ती बालकले भने, ‘यसअघि शायद किरा पनि खाइसके होला ।’

उता, यम्मी स्वीट एण्ड बेकरी उद्योगकी सञ्चालक डेजिकुमारी देव चौधरीले कामदारबाट गलती भएको स्वीकार गरे तापनि कामदारलाई सचेत भने गराइन । उल्टै उपभोक्ताको हातबाट किरा भएको चम्चा खोसेर मःम बाहिर फालिन् र मोबाइल झिकेर भिडिओ रेकर्डिङ थालिन । ‘गलती भएको होला, तपाईको मःम चेन्ज गरिदिन्छौं’, उनले भनिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस