भारतको कर्नाटकामा कंग्रेसको पुनरागमन हुने एक्जिट पोलहरूको प्रक्षेपण

राजविराज । दक्षिण भारतीय राज्य कर्नाटकाको सत्तामा भारतीय कंग्रेसको पुनरागमन हुन सक्ने विभिन्न एक्जिट पोलहरूले देखाएका छन्।

२२४ सदस्यीय कर्नाटका विधान सभाका लागि बुधबार मतदान भएको छ। निर्वाचन आयोगका अनुसार झन्डै ७३ प्रतिशत मतदान भएको छ।

मतगणना शनिबार बिहान सुरू हुनेछ। अन्तिम परिणाम पनि त्यही दिन घोषणा हुने अपेक्षा गरिएको छ।

कर्नाटका यस्तो राज्य हो जहाँ सन् १९७० पछि कुनै पनि पार्टीले लगातार दुई वटा चुनावमा बहुमत ल्याउन सकेका छैनन्। कर्नाटका नै यस्तो राज्य हो जहाँ पाँच वर्षअघि पहिलो पटक भारतीय जनता पार्टीले आफ्नो सरकार बनाएको थियो।

हिन्दुत्वको नाराले उत्तरी भारतमा लोकप्रियता कमाएको भाजपा दक्षिणी भारतका अरू राज्यहरूमा भने सरकार बनाउन सकेको छैन।

सन् २०१८ को चुनावपछि सबैभन्दा ठूलो दल बनेपछि भाजपाले कर्नाटकामा आफ्नो नेतृत्वमा सरकार बनाएको थियो। त्यतिबेला कुनै पनि पार्टीको बहुमत आएको थिएन।

भाजपाले २२४ मध्ये १०४ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपाका बासभराज बोम्माई मुख्यमन्त्री बनेका थिए।

विभिन्न एक्जिट पोलहरूले यसपालि कर्नाटकाको सत्तामा भारतीय कंग्रेसको पुनरागमन हुने देखाएका छन्।

इन्डिया टुडेको एक्जिट पोलमा २२४ सिटमध्ये कंग्रेस एक्लैले १२२ देखि १४० सिटसम्म जित्ने देखाएको छ।

इन्डिया टिभी, एबिपी न्युज, टाइम्स नाउ का एक्जिट पोलले पनि कंग्रेस एक्लैले बहुमत ल्याउन सक्ने देखाएका छन्। अरू केही एक्जिट पोलहरूमा पनि सबैभन्दा ठूलो दल कंग्रेस हुने देखिएको छ।

गत मार्चमा कंग्रेस नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मोदी थरका विषयमा दिएको अभिव्यक्तिमा दोषी ठहर गरेर उनी सांसदबाट निलम्बन भएपछि पहिलो पटक कुनै राज्यमा विधान सभा चुनाव भएको हो।

चुनावी अभियानका क्रममा राहुल गान्धी यसपालि सार्वजनिक बसमा यात्रासमेत गरेका थिए।

उता प्रधानमन्त्री मोदीले भने मतदानको केहीदेखि कर्नाटकाका विभिन्न ठाउँमा कडा सुरक्षाबीच रोड सो गरेका थिए।

कर्नाटकाको सत्तामा पुनरागमन हुनुको महत्व कंग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन। यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकाको जितले हौसला दिनेछ।

त्योसँगै अर्को वर्ष हुने आम निर्वाचनका लागि पनि कर्नाटकाको चुनावले अर्थ राख्नेछ। भारतमा अहिले कंग्रेस यति धेरै कमजोर भएको छ कि अरू दलहरूले उसको नेतृत्वमा विपक्षी गठबन्धन बनाउन पनि आनाकानी गरिरहेका छन्।

कर्नाटकाको सत्तामा फर्किएपछि भाजपासँग भिड्न सक्ने शक्ति अझै पनि कंग्रेस नै हो भन्ने सन्देश जानेछ।

कर्णाटकामा लोकसभाका २८ सिट छन्।

(विभिन्न भारतीय सञ्चारमाध्यमहरूका विवरणमा आधारित।)

Author:



क्याटोगरी छान्‍नुहोस